२५ सय रुपैयाँले बदलेको जिन्दगी !

 कात्तिक २३, २०७५ शुक्रबार ९:३०:३० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – झुस्स दारी । केही पातलो ज्यान । देख्दै मिजासिला, इमान्दार लाग्ने । निकै मेहनती पनि हुनुहुन्छ, उहाँ । दिनरात, साँझबिहान आफ्नै कर्ममा जुट्नुहुन्छ, सुभाष अधिकारी । उहाँले आफ्नै लगानीमा व्यवसाय चलाउनुभएको छ ।

उहाँले ‘सप्तरंगी आर्ट पब्लिसिटी’ सञ्चालनमा ल्याउनुभएको छ । उहाँको यस व्यवसाय लमजुङको प्रमुख व्यापारिक केन्द्र बेसीशहर र सुन्दरबजारमा सञ्चालनमा छ ।

उहाँको जन्म लमजुङको भलायखर्कमा भयो । उहाँको पढाई, बढाई, हुर्काई भने तनहुँमै भयो । अहिले पनि उहाँको स्थायी ठेगाना भानु नगरपालिका–२, तनहुँ नै हो । उहाँले तनहुँकै केशवटारमा रहेको केशवटार माविबाट एसलएसी पास गर्नुभएको छ । ‘

स्कुल पढ्दादेखि नै चित्रकलामा उहाँको औधी रुची । भविष्यमै ‘आर्टस्’ सम्बन्धी नै काम गर्ने उहाँको सोच थियो । ‘स्कुल पढ्दा म चित्र कोर्न ‘तगाडा’ थिएँ । चित्र कोर्न, साइन बोर्ड लेख्न मन लाग्थ्यो । भविष्यमै यसै सम्बन्धी काम गर्छु भन्ने सोच थियो । त्यसैले होला, अहिले यसै पेशामा छु,’ ब्यानर लेख्दै गरेका अधिकारीले मुस्कुराउँदै उहाँले भन्नुभयो ।

बेसीशहरमा मात्रै उहाँको ४० लाख बढी लगानी भएको छ । सुन्दरबजारमा २० लाखको लागनी छ । बेसीशहरमा ८ जनाले रोजगारी पाएका छन् । सुन्दरबजारमा ३ जनाले रोजगारी पाएका छन् ।

बेसीशहरको व्यवसाय सुभाषकी श्रीमति कोपिला अधिकारी र आफ्नै भाइ जनक अधिकारीले सम्हाल्नुभएको छ । सुन्दरबजारको व्यवसाय उहाँ आफैले सम्हाल्नुभएको छ ।  व्यवसाय सुरु गर्नुअघि उहाँले डुम्रे, दमौली लगायतका ठाउँमा पुगी ब्यानर, बोर्ड का साथै हस्तलखेन सम्बन्धी सीप सिक्नुभयो ।

अरुकोमा काम पनि गर्नुभयो । हातमा सीप छ, आफ्नै लगानीमा व्यवसाय सुरु गर्नुपर्छ भन्ने सोच पलायो, उहाँमा । तर व्यवस्थित रुपमा व्यवसाय सञ्चालन गर्न साथमा पैसा थिएन । साथमा भएको मोवाइल फोन बेच्नुभयो, २५ सय रुपैयाँमा । त्यही पैसा खर्चेर उहाँले बेसीशहरको शेरामा २०६२ सालमा ‘प्रिन्टस्’ व्यवसाय सुरु गर्नुभयो । सुन्दरबजारमा भने गएको वैशाखबाट व्यवसाय सुरु गर्नुभएको हो ।

६० लाख बढी लगानी

‘आर्टस्’ सम्बन्धी काम गरेको वर्षौको अनुभव छ, उहाँसँग । ‘२५ सय रुपैयाँमा व्यवसाय सुरु गरेको हुँ । अहिले व्यवसायमा ६० लाखभन्दा बढीको लगानी छ । केहीले रोजगारी समेत पाएका छन्,’ उहाँले हौसिँदै भन्नुभयो ।

खट्न सके यसै व्यवसायबाट मनग्य कमाउन सकिने उहाँ बताउनुहुन्छ । ‘सीप सिक्नुपर्यो । दत्तचित्त भई खट्न सकेमा यहीँ मनग्य कमाउन सकिन्छ,’ उहाँले भन्नुभयो । सुन्दरबजार र बेसीशहरमा रहेको उहाँको ‘सप्तरंगी आर्ट पब्लिसिटी’मा फ्लेक्स प्रिन्ट, शिलालेख, ताम्रापत्र, मायाको चिनो तयार पार्नुका साथै छाप, स्ट्याम्प बनाउने लगायतका काम हुन्छ ।

मासिक १ लाख बढी आम्दानी

अहिले उहाँसंग आधुनिक फ्लेक्स प्रिन्ट मेशिन, स्ट्याम्प बनाउने मेशिनका साथै स्टीकर कटिङ मेशिन समेत रहेका छन् ।

दैनिक कारोबार १० हजारसम्म हुन्छ । खर्च बटाएर मासिक झण्डै १ लाख आम्दानी हुने गरेको उहाँले बताउनुभयो । उहाँले ब्यानर प्रिन्ट गर्दा स्क्वायर फिटको आधारमा पैसा लिनुहुन्छ । ‘प्रति स्क्यार फिट ४० रुपैयाँ लिन्छु,’ उहाँले थप्नुभयो ।

‘प्रिन्टस्’ सम्बन्धी सेवा लिन आफू कहाँ लमजुङसहित मनाङ, गोरखा र तनहुँका मानिसहरु आउने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार केही समयअघि कपडा, जस्तामा रंगले ‘ब्यानर’ लेखिन्थ्यो । तर पछिल्लो समय ‘प्रिन्ट’प्रति नै मानिसहरुको आकर्षण बढेको छ ।

समय र पैसाको बचत

‘छिटो, छरितोका साथै पैसा पनि कम पर्ने, काम पनि राम्रो हुने भएकाले मानिसहरु प्रिन्टप्रति नै तानिएका छन्,’ उहाँले थप्नुभयो, ‘आधुनिक मेशिनबाट ब्यानर निर्माण गर्दा कम्प्युटरमा डिजाइनिङ पनि गर्न पाइयो ।’

विशेषगरी : मंसिरदेखि वैशाखसम्म आफूलाई भ्याइनभ्याई हुने उहाँ बताउनुहुन्छ । बिहेवारी, भ्रमण, विभिन्न पर्व अवसरमा हुने औपचारिक कार्यक्रमका लागि ‘ब्यानर’ बनाउन आउनेहरुको भीड हुन्छ । ‘चुनावका बेला चुनाव सामग्री छाप्ने कामले पनि भ्याइनभ्याई हुन्छ,’ उहाँले भन्नुभयो ।

        
 

अन्तिम अपडेट: चैत १२, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया