म‌ंसीर १४ देखि कुञ्ज नाटकघरमा मगर समुदायमा आधारित नाटक ‘लिलामे माइलो’ प्रदर्शन हुने

 कात्तिक २५, २०७५ आइतबार १३:३३:१७ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - मौलिक र सामाजिक परिवेशमा आधारित नेपाली लोकनाटक ‘लिलामे माइलो’ प्रदर्शनको तयारी भैरहेको छ । कुञ्ज नाटक घरको प्रस्तुति रहने नेपाली लोक नाटक लिलामे माइलोको अहिले रिहर्सलको काम भैरहेको कार्यकारी निर्माता राजाराम गौतमले जानकारी दिनुभयो । 

नाटक मोरङ जिल्लाको पर्यटकीय क्षेत्र लेटाङ आसपासको मगर समुदायलाई आधार बनाएर तयार गरिएको छ । नाटकमा कथा र निर्देशन प्रभाकर न्यौपानको रहेको छ भने नाट्य रुपान्तरण राज थापा काउचाले गरेका छन् ।

नाटकमा सलमान गुरुङ, निशा पाख्रिन, राजन भुजेल, पुष्प अवस्थी, विजय नेपाल, विरेन्द्र खाती, अलविना न्यौपाने, विपना थापा लगायतका कलाकारहरुको भूमिका रहेको छ भने फोटोग्राफी डकुमेन्टेशन युसव गौतमले गरेका छन् । 

मंसिर १४ गतेदेखि पुस ७ गतेसम्म कुञ्ज नाटक घरमा मञ्चन हुने नाटकलाई देशका विभिन्न थिएटरहरुमा र राष्ट्रिय तथा अन्तराष्ट्रिय नाटक महोत्सवहरुमा समेत मञ्चन गर्ने तयारी गरिएको निर्माता गौतमले बताउनुहाेस् ।

भारतको सिक्किम, दार्जीलिङ, सिलिगुढी, आसामका साथै थाइल्याण्ड तथा म्यानमारमा समेत प्रदर्शनको तयारी गरिएको उहाँले बताउनुभयो । 

नेपाली नाट्य क्षेत्रमा नयाँ प्रयोगसहित, नाटकको माध्यमबाट पूर्वी नेपालका आदिवासी जनजातिमध्येको मगर समुदायको रीतिरिवाज, चालचलन, कला साहित्य र संस्कृतिलाई प्रवद्र्धन गर्नुको साथै पर्यटकीय क्षेत्र मोरङको राजारानी ताललाई पनि प्रवद्र्धन गर्न मद्धत पुग्ने निर्माता गौतमले बताउनुभयो । 

लिलामे माइलोमा फेमेली ड्रामा र सामाजिक विषयवस्तुलाई नाटकमा उतारेको बताउँदै कथाकार तथा निर्देशक प्रभाकर न्यौपानेले रंगकर्मका माध्यमबाट नेपालको ग्रामीण भेगमा बसोबास गर्ने व्यक्तिहरुको स्थानीय रहनसहन, सँस्कृति, पर्व लगायतलाई दुरुस्तै कथामा उतारी नाटकको रुपमा प्रस्तुत गर्न लागेको बताउनुभयो । 

नाटक अवधिभर कुञ्ज थिएटरमा लेटाङ विशेष निःशुल्क फोटो प्रदशनी समेत राखिने छ । यस्तै काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकाले निर्माण गरेको कला सामग्रीलाई पनि प्रदर्शनीमा बिक्रिका लागि राखिने छ । मंसिर १२ गते काठमाडौंमा रहेका सुकुम्बासी बस्तीका बालबालिकालाई र मंसिर १३ गते वृद्धाश्रमका बा, आमालाई निःशुल्क देखाउने तयारी छ । 

लिलामे माइलो नाटक मञ्चनबाट संकलन हुने रकम खर्च कटाएर बाँकी रकम सामाजिक कार्यमा खर्च गरिनेछ । माइलाहरुले नाटक निःशुल्क हेर्न पाउनेछन् । सुकुम्बासी बस्तीका बालबालिका र ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले यो नाटक कुनै पनि दिन निःशुल्क हेर्न पाउने कार्यकारी निर्माता गौतमले जानकारी दिनुभयो । 

नेपालमा पहिलो पटक नाटकको प्रोमो भिडियो सार्वजनिक

लिलामे माइलो नाटकको प्रोमोसन भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा मगर समुदायमा गाइने प्रख्यात हुर्रा गीत र लाफा नाच देखाइएको छ । नाटकको चरित्र निर्माणको लागि मोरङ जिल्लाको लेटाङ, राजारानी आसपासको क्षेत्रमा कलाकार टोली जाँदाको समयमा गरिएका विविध कृयाकलापहरुलाई समेटिएको छ । 

लिलामे माइलो को ट्रोल बनाउनेलाई पुरस्कार

लोक नाटक लिलामे माइलोको ट्रोल बनाउनेले नगद रु ५०००– पुरस्कार पाउनुको साथै २ जनालाई निःशुल्क दार्जीलिङ भ्रमणको व्यवस्था गरिएको घोषणा गरेको छ ।

प्रोमोसन भिडियो गीत, कविता, डायलग जुनसुकै तरिकाबाट बनाउँदा पनि हुने बताइएको छ । 

उत्कृष्टमा पर्नका लागि भिडियोको आकर्षण तथा भ्युजलाई आधार बनाइनेछ । भिडियो आफ्नो फेसबुक पेज, लोक नाटक लिलामे माइलोको फेसबुक र पेजमा सेयर भएको हुनु पर्नेछ । 

लिलामे माइलोको प्रोमोसन भिडियो, पोष्टर, ट्रोल, फोटोहरु सबैभन्दा बढी सामाजिक सञ्जालमा सेयर गर्ने १० जनालाई निःशुल्क लिलामे माइलोको टिकट उपलब्ध गराइने पनि जनाइएको छ  ।
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया