सबै स्थानीय तहलाई ‘उद्योग ग्राम’ स्थापना गर्न सरकारको आग्रह

 कात्तिक २८, २०७५ बुधबार १७:१०:३७ | उज्यालो सहकर्मी

काठमाडौं – सरकारले ‘उद्योग ग्राम’ स्थापना गर्न सबै स्थानीय तहलाई आग्रह गरेको छ । 

अर्थमन्त्री डा. युवराज खतिवडाले सबै स्थानीय तहलाई उपलब्ध स्रोत, साधन तथा सीपमा आधारित हस्तकलालगायतका उद्योग ग्राम स्थापना गर्न आग्रह गर्नु भएको हो । बुधबार नेपाल हस्तकला महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उद्योग ग्राम स्थापना गर्ने स्थानीय तहलाई आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने घोषणा पनि गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले देशको हस्तकलालगायतका बौद्धिक सम्पत्ति चोरी हुन नदिन सरकारले बौद्धिक सम्पत्तिमाथिको अधिकारसम्बन्धि ऐन संशोधन प्रक्रिया अघि बढाएको पनि जानकारी दिनुभयो । उहाँले हस्तकलासम्बन्धि बौद्धिक सम्पत्ति चोरी हुन नदिन आवश्यक सुझाव दिन पनि हस्तकला व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

अर्थमन्त्री खतिवडाले नेपालबाट निर्यात् हुने हस्तकलाको यकिन तथ्यांक संकलन गर्ने काममा सहयोग गर्न पनि व्यवसायीहरुलाई सचेत गराउनुभयो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया