पार्टीको साधारण सदस्यबाट हटाएको कुरा मलाई जानकारी छैन : सोडारी

 कात्तिक २८, २०७५ बुधबार १७:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

कैलाली – मन्त्रिपरिषदमा फेरबदल भएपछि सुदूरपश्चिम प्रदेशको राजनीतिमा हलचल भएको छ ।

मुख्यमन्त्री त्रिलोचन भट्टले दीर्घ सोडारीलाई सुदूरपश्चिम प्रदेशको तत्कालीन सामाजिक विकास मन्त्रीबाट बर्खास्त गर्दै कृष्ण सुवेदीलाइ नियुक्त गरिएपछि विभिन्न टीकाटिप्पणी हुन थालेका छन् ।

मुख्यमन्त्री त्रिलोचन भट्टले पदीय आचरण र कार्यसम्पादनका कारण सोडारीलाई बर्खास्त गरिएको बताउनु भएको छ भने बर्खास्तीमा पर्नु भएका सोडारीले आफूमाथि लागेका आरोपको खण्डन गर्नु भएको छ ।

उहाँले आफूमाथि लगाइएका आरोप साँचो नभएको बताउँदै आउनुभएको छ । तर पार्टीको निर्णय आफूलाई स्वीकार भएको सोडारीले बताउनुभएको छ । बुधबार उज्यालोसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । बर्खास्त हुनुको कारण जानकारी नगराइए पनि पार्टीको निर्णय सजिलै स्वीकार गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।

मन्त्री पदबाट बर्खास्त गरिँदा सोडारीले आफू गुटबन्दीको सिकार भएको बताएपछि उहाँलाई पार्टीले साधारण सदस्य पनि नरहने गरी निष्काशन गरेको थियो । त्यसपछि भने मन्त्री सोडारीले पार्टीका सबै निर्णय सजिलै स्वीकार्ने भन्दै आउनु भएको छ ।

पार्टीले गरेको निर्णयले न्याय–अन्याय जे गरे पनि त्यसबारेमा आफूले कुनै टिप्पणी नगर्ने उहाँले बताउनुभयो । यद्यपि उहाँले पार्टीले साधारण सदस्य समेत नरहने गरी बर्खास्त गरेको कुरा जानकारी नभएको बताउनुभयो ।

तर प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले भने पार्टीले सोडारीलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गरेको दाबी गर्नुभयो । यता नयाँ सामाजिक विकास मन्त्रीलाई सपथ खुवाउनु भएका मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीको बर्खास्त प्रकरण पदीय आचरण र कार्य सम्पादनसँग जोडिएको बताउनुभयो । सोडारीले भने आफूलाई पार्टीको साधारण सदस्यबाट हटाइएको जानकारी नआएको स्पष्ट पार्नुभएको छ ।

उहाँले संविधान बमोजिम आउने जाने प्रक्रिया चलिरहने भन्दै त्यसै प्रक्रिया अनुसार मन्त्री पदबाट सोडारीलाई बर्खास्त गरिएको बताउनुभयो । ने क पा को सुदूरपश्चिम कमिटीले सोडारीविरुद्ध पार्टीभित्रै गुनासो बढ्दै गएको र छानबिन गर्दा पद अनुरुपको आचरण नगरेको भेटिएपछि कारबाही गरिएको बताएको छ ।

सोडारीविरुद्ध मन्त्रालयका योजना सञ्चालन गर्दा आफू निकटका कार्यकर्तालाई मात्र हेरेको, विभिन्न आपराधिक गतिविधिमा संग्लन व्यक्तिलाई जोगाउन भूमिका खेलेको लगायतका आरोप छन् ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया