परराष्ट्रमन्त्री ज्ञवाली मंसिर १ गते जापान जाने

 कात्तिक २८, २०७५ बुधबार १७:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली जापान भ्रमणमा जानु हुने भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली समकक्षी तारो कोनोको मैत्रीपूर्ण निमन्त्रणामा पाँच दिने औपचारिक भ्रमणका लागि आउँदो मंसिर १ गते शनिबार जापान जानु हुने भएको हो ।

बुधबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री ज्ञवालीले आफूले जापानको औपचारिक भ्रमण गर्न लागेको जानकारी गराउनुभयो । जापान नेपालको मुख्य दाता राष्ट्रमध्ये एक हो । मन्त्री ज्ञवालीले लगानीको थप वातावरण बनाउने विषयमा आफ्नो भ्रमण केन्द्रित हुने पनि ज्ञवालीले बताउनुभयो ।

परराष्ट्रमन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमणबाट नेपालको पूर्वाधार विकास, जलविद्युत क्षेत्रको विकास र कृषिलाई आधुनिकीकरण गराउन थप लगानीको वातावरण बन्ने विश्वास पनि व्यक्त गर्नुभयो । जापानले नेपालको पूर्वाधार विकासमा सहयोग गर्दै आएको छ ।

मंसिर १ गतेदेखि ५ गतेसम्म जापानको भ्रमणपछि मन्त्री ज्ञवालीले फर्कने क्रममा थाइल्यान्डमा रहेका प्रवासी नेपालीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया