मालपोतमा आधाभन्दा बढी नामसारी महिलाको नाममा

 कात्तिक २८, २०७५ बुधबार १८:४५:६ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – रजिष्ट्रेशन गर्दा महिलाको नाममा छुट हुने व्यवस्थापछि भूमिसुधार तथा मालपोत कार्यालय बाँकेमा महिलाको नाममा रजिष्ट्रेशन हुने क्रम बढेको छ । 

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेको तथ्यांक अनुसार  पछिल्लो समय  महिलाको नाममा जग्गा रजिष्ट्रेशन हुने क्रम ५० प्रतिशतभन्दा बढी छ । गएको आर्थिक वर्षमा मालपोतमा  नगर र ग्रामिण क्षेत्रमा गरी १३ हजार ४४२ राजीनामाको लिखत भएको छ । मालपोतको तथ्यांक अनुसार गएको आर्थिक वर्षमा  आठ हजार २८६ महिलाले  लिखत रजिष्ट्रेशनमा छुट पाएको कार्यालय प्रमुख प्रेम दौल्यालले जानकारी दिनुभयो । 

‘सरकारले छुटको व्यवस्था गरेपछि महिलाको नाममा नामसारी गर्ने क्रम बढेको पाइएको छ’, कार्यालय प्रमुख दौल्यालले भन्नुभयो । दैनिक ५० प्रतिशत भन्दा बढी महिलाको नाममा नामसारी हुने गरेको छ । उहाँले महिलालगायत सेवाग्राहीलाई जग्गा नामसारीका लागि कार्यालयमा सहज व्यवस्था भएको बताउनुभयो । 

भूमिसुधार तथा मालपोत कार्यालयबाट हुने  लिखतको किसिम राजीनामा बाहेक अंशवण्डा, सट्टापट्टा, छोडपत्र, संगोलनामा, चक्लाबन्दी, अंशभर्पाई, पुस्ताभित्र र पुस्ताबाहिर, बकसपत्र नाता, डोरदस्तुर, दृष्टिबन्धक, मानो जोडिएको, दानपत्र, सेवा शुल्क, धर्मपुत्र, कपाली तमसुक, दर्ता फारीजस्ता  विभिन्न किसिमका हुने भए पनि अधिकांश   महिलाको नाममा राजीनामाको लिखत हुने गरेको प्रमुख दौल्यालको भनाई छ । 

मालपोत प्रमुख दौल्यालका अनुसार, महिला बाहेक अपाङ्ग, दलित, वृद्ध र अन्यलाई पनि रजिष्ट्रेशनमा छुटको ब्यवस्था गरिएको छ । मालपोतमा दैनिक ७० को हाराहारीमा लिखत पास हुँदा करिब ४० वटा महिलाको नाममा हुने गरेको छ । 

महिलाको नाममा रजिष्ट्रशेन गर्दा  लाग्ने शुल्कको २५ प्रतिशत छुट हुने गरेको छ । यसैगरी दलितको नाममा ५० प्रतिशत, पूर्ण अपाङ्गलाई २५ प्रतिशत, जेष्ठ नागरिकलाई २५ प्रतिशत, नाबालकलाई २५ प्रतिशत र शीहद परिवारलाई १०० प्रतिशत सम्म छुटको व्यवस्था रहेको छ । 

मालपोत कार्यालयका अनुसार, उप–महानगरपालिकामा ४.५ प्रतिशत, नगरपालिकामा ४ प्रतिशत र गाउँपालिकामा २ प्रतिशत रजिष्ट्रेशन शुल्क तोकिएको छ । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया