बेपत्ता भएका पत्रकार तेजु खड्काको खोजी कार्य फेरि सुरु

 कात्तिक २८, २०७५ बुधबार १८:४८:१९ | विमल बिष्ट
unn.prixa.net

डोटी – बाजुराको प्रसिद्ध धार्मिकस्थल बुढीनन्दाबाट जनैपूर्णिमाको मेलाबाट फर्किने क्रममा एका–एक सम्पकविहीन भएका डोटीका पत्रकार तेजबहादुर खड्का ‘तेजु’को पुनः बुधबारबाट खोजी कार्य सुरु गरिएको छ ।

बाजुरा जिल्लाको प्रमुख धार्मिकस्थल बुढीनन्दाबाट कोल्टि फर्किने क्रममा गएको भदौ १० गतेबाट पत्रकार खड्का बेपत्ता भएका थिए । नेपाल पत्रकार महासंघको आग्रहमा स्थानीय प्रशासनले खड्काको खोजीका लागि बुढीनन्दा क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर खटाएको छ ।

सुदूरपश्चिम पृतना दिपायल राजपुरका अनुसार नेपाली सेनाको हेलिकप्टरले हवाई मार्गबाट बेपत्ता पत्रकार खड्काको खोजी गर्नुका साथै २० जनालाई उहाँ बेपत्ता भएको स्थान छेउछाउको क्षेत्रमा उतारेको छ ।

‘सेनाको हेलिकप्टरले बुधबार बिहान खड्काकी श्रीमती र आफन्त पर्ने अर्की महिलासँगै घटना भएको क्षेत्र नजिकैको बस्ती कुरुका १८ जना स्थानीयलाई लगेर छाडेको छ ।

यसअघि पनि स्थानीय प्रशासनले गएको भदौमा सम्पर्कविहीन भएका पत्रकार खड्काको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोली बुढीनन्दा क्षेत्रमा खटाएको भए पनि मौसम अनुकूल नभएका कारण भदौमा हेलिकप्टर बुढीनन्दा क्षेत्रमा जान सकेको थिएन ।

पत्रकार खड्का बेपत्ता भएको धार्मिकस्थल बुढीनन्दा समुन्द्री सतहबाट झण्डै ४२ सय मिटरको उचाईमा रहेको र पत्रकार खड्का ४१ सय मिटरको उचाई क्षेत्रमा पर्ने ‘बर माग्ने डाँडा’ भन्ने ठाउँबाट सम्पर्कविहीन भएको बताइएको छ ।

रेडियो नेपालको दिपायल प्रदेश प्रशारण केन्द्र दिपायल, हुँदै केन्द्रीय प्रशारण केन्द्र सिंहदरबारमा समेत काम गरिसकेका पत्रकार खड्का पछिल्लो समय बजुराको कोल्टीमा रहेको रेडियो बुढीनन्दामा स्टेशन म्यानेजरको रुपमा कार्यरत थिए ।

बुढीनन्दामा मेला भरेर झण्डै ५ घण्टाको दूरीमा पर्ने ‘बर माग्ने डाँडा’ क्षेत्रमा पुगिसकेपछि उनी थर्मस छुटेको भन्दै मेलास्थल फर्केको र पछि एकाएक बेपत्ता भएको बताइएको छ । 


 

अन्तिम अपडेट: चैत १०, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया