पर्यटन बोर्डको टोली खप्तडमा

 कात्तिक २९, २०७५ बिहिबार १३:२३:१ | विमल बिष्ट
unn.prixa.net

खप्तडमा पर्यटन बोर्डसहित अन्य टोलीहरु

डोटी – धर्तीको स्वर्गका नामले परिचित अछाम, बझाङ, बाजुरा तथा डोटी जिल्लाको केन्द्रबिन्दुमा पर्ने खप्तडमा पर्यटन बोर्डको टोली पुगेको छ । 

पर्यटन व्यवसायी समिति पर्यटन बोर्डका पदाधिकारीहरु खप्तडमा पुगेका हुन् । खप्तड क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि गर्न सकिने कामको अध्ययन तथा पर्यटकका लागि खाने बस्ने ठाउँको अध्ययन गर्नका लागि टोली खप्तड गएको बताइएको छ । 

नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महरा, अवधेश कुमार दास र दिपक महतसहित अन्य पर्यटन व्यवसायी पनि खप्तड पुगेका छन् । 

टोलीमा पर्यटन विकास समितिका महासचिव सन्जय कुमार चौधरी, होटल व्यवसायी संघ डोटीका अध्यक्ष तथा डोटी उद्योग वाणिज्य संघका महासचिव दिपकबहादुर खडका, खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष  रामप्रसाद उपाध्याय, एनआरएन जर्मनीका अध्यक्ष नवराज रोश्यारा पनि उक्त टोलीमा सहभागी हुनुहुन्थ्यो । 

पर्यटन बोर्डका सदस्य कृष्ण बहादुर महराले खप्तडमा एक सय जना र बिचपानीमा २५ जनालाई बसोबासको व्यवस्थाका लागि संरचना निर्माण गरिने बताउनु भयो । 

यसवर्ष मात्रै पर्यटन बोर्डबाट प्रिफ्याब भवन बनाउनको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको उहाँले जानकारी दिनु भयो । खप्तडमा राम्रो खानपिन र बसोबासको बन्दोबस्ती भए प्रति वर्ष ५० हजार पर्यटक भित्रयाउन सकिने डोटी उद्योग वाणिज्य संघका महासचिव दिपकबहादुर खडकाले बताउनु भयो । 

उहाँले भन्नु भयो ‘बस्ने र खाने मात्रै व्यवस्था गर्न सके पर्यटकको ओइरो लाग्छ ।’ 

खप्तडमा स्कि र गल्फको अत्यन्तै सम्भावना भएकाले यसलाई पर्यटन बोर्डले उच्च प्राथमिकतामा राखेको बोर्डका सदस्य दिपक महतले बताउनु भयो । 
अहिले दिनहुँजसो ४०-५० जना खप्तड पवेश गर्ने गरेको खप्तड पर्यटन बोर्ड डोटीले जनाएको छ । 

 

 


 

अन्तिम अपडेट: चैत १, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया