सामाजिक सञ्जालबाट पुरस्कार पर्‍याे भन्दै ठग्ने ७ जना पक्राउ

 कात्तिक २९, २०७५ बिहिबार १८:१३:३३ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विभिन्न सामाजिक सञ्जाल, भाइबर, ह्वाट्स एपसमेतको माध्यमबाट पुरस्कार परेको भन्दै ठगी गर्ने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

तपाईँहरूलाई ठूलो धनराशीको चिठ्ठा परेको छ भन्दै चिठ्ठाबापतको रकम प्राप्त गर्न, कर, बैंकिङ प्रक्रिया तथा सेवा शुल्क समेतको लागि केही रकम जम्मा गरेपश्चात त्यो रकम प्राप्त गर्नु हुनेछ भनी रकम संकलन गर्नेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।

देशका विभिन्न ठाउँबाट विभिन्न व्यक्तिहरूको नाममा रकम जम्मा गर्न लगाई विभिन्न व्यक्तिहरूलाई प्रयोग गरी रकम निकाली ठगी गर्ने गिरोहलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठको भनाई छ । 

यसरी पक्राउ पर्नेमा भारत बिहार अररिया जिल्ला फारबेसगञ्ज बस्ने २५ वर्षीय मनोजकुमार ठाकुर, २३ वर्षीय चन्दनकुमार भगत, २८ वर्षीय पंकजकुमार साह रहेका छन् । त्यस्तै यसरी ठगीमा संलग्न हुनेमा मोरङ कटहरी गाउँपालिका –४, का २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षीय रमेशकुमार साह र जहदा गाउँपालिका –७, का  २० वर्षीय  टुनटुन साह रहेका छन्  ।

पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ३५ हजार नेपाली रुपैयाँ, ३० हजार भारतीय रुपैयाँ, मोबाइलहरू,  न्यूज क्राइम २४ डटकमबाट इस्यू गरिएको प्रेस रिपोर्टर लेखिएको परिचयपत्रसमेत बरामद गरेको छ ।  उनीहरुले देशका विभिन्न व्यक्तिहरूबाट १६ लाख ५७ हजार रुपैयाँ ठगी गरेको खुल्न आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

पक्राउ परेका उनीहरुलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले बताउनुभयो ।
 

अन्तिम अपडेट: चैत २३, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया