तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु हुँदै

 बैशाख १६, २०८१ आइतबार ७:२४:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले औपचारिक उद्घाटन गरेपछि शुरु हुने सम्मेलन भोलि बेलुकासम्म चल्नेछ । उद्घाटन सत्रमा प्रधानमन्त्रीसहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा धेरैको सहभागिता सुनिश्चित भएको छ ।

सम्मेलनमा नौ खर्ब बराबरका एक सय ५० परियोजना सोकेसमा राखिँदैछन् । यस्तै सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष रहनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् ।

पहिलो दिन आज उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन भोलि ११ समानान्तर सत्र सञ्चालन हुनेछन् । विदेशी तथा स्वदेशी लगानीकर्तालाई सम्मेलनमार्फत नेपाल लगानीका लागि आकर्षक गन्तव्यका रुपमा रहेको सन्देश दिइने लगानी बोर्डले जनाएको छ ।

लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल ताहचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन् । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् ।

सम्मेलनमा नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भैसकेको छ । यस्तै चीनका दुई सय ६५, भारतका एक सय ४३, अमेरिकाका ३३, जापानका २८, बेलायतका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (यूएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् ।

दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ/नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट छ, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने जनाइएको छ ।

अरू देशबाट तीन वा त्योभन्दा कम सङ्ख्यामा सहभागी हुने निश्चित भएको बोर्डले जनाएको छ । सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालको निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया