आजदेखि सातवटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइँदै

 बैशाख १६, २०८१ आइतबार ९:२५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले आजदेखि सात जिल्लाका ५० लाख ७८ हजारलाई हात्तीपाइले रोगविरुद्धको औषधी खुवाउँदैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर रुद्र मरासिनीले झापा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तुमा हात्तीपाइलेविरुद्धको औषधी खुवाइने जानकारी दिनुभयो ।

यसअघि ती जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरे पनि अभियानको उदेश्य पूर्णरुपमा सफल नभएपछि फेरि अभियान सञ्चालन गर्न लागिएको हो । अभियान दुई हप्तासम्म चल्नेछ । औषधि खुवाउन छ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी छ ।

डाक्टर मरासिनीकाअनुसार सात जिल्लाका एक सय एक पालिकाका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने लक्ष्य छ । दुई वर्षभन्दा माथिको उमेरका सबैलाई औषधि खुवाइने उहाँले बताउनुभयो ।

गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने पनि निर्देशक डाक्टर मरासिनीले बताउनुभयो ।

हात्तीपाइले रोग मानिसलाई शारीरिकरुपमा अशक्त तथा अपाङ्ग बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने र मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको केही वर्ष पछि मात्रै रोगका लक्षण शरीरमा देखिने डाक्टर मरासिनीले बताउनुभयो ।

महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत तथा अभियानका फोकल पर्सन रामकुमार महतोले ५३ जिल्लामा समुदायस्तरमा हात्तीपाइले रोगको सङ्क्रमण रोकिएको बताउनुभयो । उहाँका अनुसार दाङ, मोरङ, बाँके र कैलाली जिल्लामा प्रारम्भिक समुदायस्तरको सङ्क्रमण रोकिएको छ ।   

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया