लगानी सम्मेलनका आधारभूत तत्त्व र अपेक्षा

 बैशाख १६, २०८१ आइतबार १८:६:१७ | दीपेन्द्र बहादुर क्षेत्री
unn.prixa.net

राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई पनि गणना गर्दा अहिले हुँदै गरेको नेपालमा चौथो सम्मेलन हो । सन् २०१७ र २०१९ का सम्मेलन बढी अनुभव बटुल्न र केही हदसम्म वित्तीय स्रोत जुटाउन सफल भए पनि सन्तोषप्रद रहेनन् । सरकारका नीतिमा परिवर्तन भइरहने (प्रत्यक्ष वैदेशिक लगानीको न्यूनतम सीमा पाँच करोड रुपैयाँबाट दुई करोडमा घटाइएको) बदलिएअनुसार सरकारका भाका बदलिने सरकारको पुँजीगत खर्चले सङ्घ, प्रदेश र स्थानीय तहको आधा पनि खर्च हुन नसकेको र आर्थिक गतिशीलता कम रहेको वस्तुगत परिस्थितिमा सम्मेलनको आलोचना नै भइरहेको छ । अघिल्लो सरकारका अर्थमन्त्रीले घोषणा गरेको यो सम्मेलन नीतिगत निरन्तरताको दुहाई सहित वर्तमान अर्थमन्त्रीले मुख्य एजेन्डाकाे रूपमा जिम्मेवारीसहित अघि बढाएको देखिन्छ ।

वित्तीय स्रोतको अभावले उद्योग, व्यवसाय, विकास निर्माण हुन नसकेको भाष्य देशमा निर्माण भएको छ । राष्ट्रिय बचतको दर कम छ । देशीय पुँजीपति विदेशमा लगानी गर्न पाउने ढोका खोल्ने माग गर्छन् । सीमित स्रोत र साधनको कुशल व्यवस्थापनको खडेरी छ । प्रविधिको प्रयोगमा गाउँगाउँमा बाटो निर्माणका नाममा डोजरको प्रयोग र कार्यालयहरूमा विद्युतीय प्रणालीको (डिजिटल) प्रयोगबाहेक कृषि, औद्योगिक उत्पादनमा न्यून छ । यस परिस्थितिमा आयोजना हुन लागेको लगानी सम्मेलन र विगतको अनुभवको आधारमा के अपेक्षा होला जिज्ञासाको विषय हो ।

झट्ट हेर्दा लगानी सम्मेलनले नाफाको अपेक्षा गरिरहेको वैदेशिक पुँजी ‘एक माना’ नाफा गर्न सकिने हाम्रोजस्तो देशले लगानीको अवसर दिन्छ भन्ने सोच बेठीक नभए पनि पूरै साँचो होइन । फेरि वैदेशिक लगानीले पुँजी मात्र होइन, उत्पादनका साधनमध्येको प्रविधि र व्यवस्थापन पनि भित्रयाउँछ । अतः हाम्रो यस सम्मेलनको प्रमुख लक्ष्य के हो ? यकिन भएकै होला । प्राकृतिक रूपले आकर्षक रहेको, बह लुकाएर पनि मुस्कान छर्ने धनी नेपालीको नजिकबाट अनुभूत गर्न मात्र त के होला र ? हजारभन्दा बढी सम्भावित लगानीकर्तालाई ६० वटाभन्दा बढी देशबाट निम्ता गरिएको पर्यटन विकासको लक्ष्य मात्र होइन । सम्भावित लगानीकर्ता आफ्नो गतिविधिको क्षेत्रको अनुभवि, विश्व लगानी बजारको विशेषज्ञ र नेपालकै विषयमा पनि सार्वजनिक गरिएका तथ्याङ्क आफ्नो पहुँचका कुटनीतिक विचारबाट बुझेझैँ हुन्छ । त्यसका अतिरिक्त सम्मेलनमा प्रस्ताव गरिएका परियोजनाको विषयवस्तु पछि निर्णय लिन सघाउने विषयवस्तु हुन् । अर्कोतर्फ लगानीको माग गर्ने हाम्रो तर्फबाट सम्भावित लगानीकर्ताहरू बारेको जानकारीमा कति ध्यान दिइएको छ भन्ने विषय पनि महत्त्वको हो । माग र आपूर्तिको नियमअनुसार ती दुई चरको अन्तरक्रियाबाट नतिजा निस्कने अर्थशास्त्रीय नीतिमा कति ध्यान दिइएको छ भन्ने विषयले पनि सम्मेलनको सफलता भर पर्छ ।

सार्वजनिक गरिएको जानकारीअनुसार झन्डै डेढ सय वटा परियोजना विमर्शका लागि पेस गरिएको छ । एक चौथाइ प्रस्तावित परियोजना प्रारम्भिक चरणका छन् भने एक पञ्चमांश परियोजना वित्तीय स्रोतको खोजीमा रहेको देखिन्छ । निजी क्षेत्रबाट आंशिक रूपमा विकसित परियोजनामा वैदेशिक सहभागिताको अपेक्षाका परियोजना पनि छन् । देश जलस्रोतको धनी कहलिएको सन्दर्भमा दर्जनभन्दा बढी जलविद्युत् आयोजना पनि प्रस्तावित छन् । परियोजनाहरूको बाहुल्यता, विविधता र अपेक्षित सहभागिताको पहल पनि फरक भएकाले सम्भावित लगानीकर्ताका लागि छनोटको विविधता पनि देखिन्छ ।

लगानी सम्मेलनले लक्षित गरेका सम्भावित लगानीकर्ताको हुन् त ? वास्तवमा स्वदेशी गैरआवासीय नेपाली र विदेशी लगानीकर्ता जो कोही पनि व्यावसायिक अनुभव भएकाहरूले योगदान दिनसक्ने अपेक्षा लिइएको देखिन्छ । आयोजनाको प्रकृतिअनुसार संयुक्त लगानी, परियोजनाको कुनै अंशको जिम्मेवारी वहन गर्नेजस्ता रोजाइ पनि हुन सक्छ । उत्पादन केन्द्रित, सेवा प्रदान गर्ने, उत्पादित सेवा/वस्तु आन्तरिक बजारका लागि पूर्ण वा आंशिक निर्यातजस्ता मिहिन विषय पनि छलफलमा आउन सक्छन् ।

मूलरूपले लगानीका लागि इच्छुक व्यक्ति र कम्पनीले राख्ने अपेक्षा भनेको प्रथमतः पुँजीको सुरक्षा हो । आर्जन गरेको रकम सहजरूपले लैजान पाउने प्रत्याभूति पनि हो । त्यसका अतिरिक्त उद्यम व्यवसायमा प्रवेश गर्न आवश्यक पर्ने क्षेत्रमा चाहिने पूर्वाधारको व्यवस्था कम झन्झटिलो होस् भन्ने अपेक्षा पनि रहन्छ । यो माग पक्षलाई आपूर्तिकर्ता अतिउदार र उत्साही भाषामा आश्वासन दिने, व्यवहारमा अलमल मात्र होइन, सेवा प्राप्त नहुने अवस्था लगानीका लागि प्रतिकूल परिस्थिति हो । एकद्वार प्रणाली, विद्युत्, पानी, सडक, विदेशी विनिमय सेवा आदि दिने प्रत्याभूति जति सजिलोसँग दिइन्छ । सेवा प्रवाहमा त्यत्तिकै जटिलता पनि छ । जुन मर्मका साथ सम्मेलनको तयारीमा जुटिएको छ । त्यहीअनुसार सेवा प्रवाहका निम्ति सम्बन्धित एजेन्सीलाई तम्तयार, चुस्त दुरुस्त र सुशासनयुक्त पद्धतिको खाँचो पर्दछ ।

सम्भावित लगानीकर्ताले हेर्ने अर्को पक्ष सम्बन्धित देशको अर्थतन्त्रको अवस्था पनि हो । सरकारको वैदेशिक मुद्राको सञ्चितिको अवस्था के छ ? वैदेशिक व्यापारको स्थितिबारे पनि चासो रहन्छ । व्यापारका हकमा आयातबाट निर्वाह हुने वस्तुको उत्पादन आन्तरिक रूपले गर्नसके आयात प्रतिस्थापनको फाइदा हुनसक्छ । निर्यात गरिने वस्तुको उत्पादन हुने हो भने त्यसको लगानीबाट लागानीकर्ता र देश दुवैले फाइदा लिन सक्ने हुन्छ । पशुपक्षीपालन व्यवसाय याे विषयको राम्रो उदाहरण हो । पशुपक्षीको मासु, अण्डा आन्तरिक खपतका लागि पनि बढी माग भएको क्षेत्र हो । त्यसमा पनी छिमेकी दुई देशको आवश्यकता पनि ख्याल राख्ने हो भने पशुपक्षीपालन अति आकर्षक लगानीको क्षेत्र हो । उत्तरतर्फ भैँसी, राँगा, बङ्गुरको गुणस्तरीय मासुको माग असीमित छ । दक्षिणतर्फ खसी, बोका, हाँस, कुखुराको मासु र अण्डा नेपालमा आयात भइरहेकामा हिमाली भेगको उत्पादनको माग सिर्जना गर्न र अभ्यस्त गराउने गुञ्जायस छ ।

लगानीका लागि वस्तु, सेवाका हिसाबले जति सम्भव भए पनि अर्थतन्त्रको दिगोपना र जोखिम बहन गर्ने क्षमताको पारख पनि आवश्यक पर्छ । सन् २०२६ मा विकासशील देशमा स्तरोन्नति हुने एजेन्डा अर्थतन्त्रको सबलीकरणको द्याेतक हो तर पनि विगतदेखि नै देशको साखको पारख गराउने प्रतिबद्धता भने ओझेलमै परेको छ । समकालीन अवस्थामा देशको बाह्य क्षेत्र अन्तर्राष्ट्रिय व्यापारलगायत चालु खाता, शोधनान्तर अवस्था सकारात्मक छ । रेमिटेन्स नितान्त अस्थायी प्रकृतिको स्रोत हो । तापनि बाह्य क्षेत्रलाई सबल बनाउन तत्काल योगदान गरेको चर हो । यो परिस्थितिमा लगानीककर्ताका निम्ति सकारात्मक सोचाइ राख्न सघाउने तत्त्व पनि भएको छ । सार्वभौम साखको पारख अति महत्त्वको कारक भए पनि त्याे औँल्याउन नपाइनु खुड्किलो विषय हो ।

सम्मेलन तयारीका सिलसिलामा जुन किसिमको प्रचारप्रसार भइरहेको छ, त्यसबाट लगानीकर्तालाई सम्मेलनमा भाग लिन उत्साही गराएको हुनुपर्छ । सरकारी र अन्तर्राष्ट्रिय मञ्चमा खासगरी कुटनीतिक क्षेत्र, बहुपक्षीय वित्तीय संस्थाहरू– अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र एशियाली विकास बैंक आदिका प्रतिनिधि र उद्योग, व्यवसाय सञ्चालनका अतिरिक्त सामूहिक पुँजी (भेन्चर क्यापिटल) लगानीकर्तामा घनिभूत रूपले सन्देश पुगेको देखिन्छ ।

लगानीका लागि वातावरण सिर्जना गर्नुपर्ने भन्नु र अनुकूल वातावरण पाएका छौँ भन्ने अनुभूति सम्बन्धित पक्षहरूको सामाजिक आर्थिक र सांस्कृतिक पृष्ठभूमिमा भर पर्छ । केही देशका पर्यटक अति सेवा भाव र समर्पण खोज्ने हुन्छन् भने कुनै देशका पर्यटक भने नेपाली सामान्य शैलीबाट अति प्रभावित भई आगमन कैयौँ गुणा बढाएका हुन्छन् । लगानी त सम्पत्तिसँग सम्बन्धित विषय हो । प्रत्यक्ष रूपले लाभ र हानी बेहाेरिने यो गतिविधिले आपसी सद्भाव सौहार्दता र संयम पनि खोज्दछ । जुन दुवै पक्षका लागि लाभदायक र चिरस्मरणीय परिघटना पनि हुन्छ ।

लगानी सम्मेलनको महत्त्वलाई ख्याल गरी भन्डै एक दर्जन ऐन अध्यादेशमार्फत संशोधन गरी लगानीमैत्री बनाइएको छ । जग्गा प्राप्ति उत्पादनका साधनमध्येको एक हो, सहज र समन्यायिक ढङ्गले प्राप्त हुनुपर्छ भन्ने आधारमा रजिस्ट्रेशन मूल्यको तीन गुणाभन्दा बढी हुनु हुँदैन भन्ने कानुनी नयाँ व्यवस्थाले लगानीका लागि अनुकूलता थपेको छ । उद्यम व्यवसाय शुरु गर्दाका अवस्थामा आइपर्ने झैझमेला समयमै टुङ्ग्याउन ‘द्रुत निराकरण’ को पद्धति अनुशरण गर्नुपर्ने हुन्छ ।

विविध परिस्थितिमा आयोजना भएको यस लगानी सम्मेलनले विगतमा सँगालिएका अनुभवका आधारमा सच्याउनुपर्ने विषय ताकि त्रुटिरहित ढङ्गले व्यवस्थित गर्न भएको प्रयास प्रशंसनीय छ । सम्भावित लगानिकर्ताहरूको सम्पर्क रहने सहयोगी वा सहजीकरण गर्ने व्यक्ति वा संस्थाले सम्बन्धित पक्षको सामाजिक सांस्कृतिक मान्यताको ख्याल गरी व्यवहार गर्नु पनि महत्त्वपूर्ण जिम्मेवारी रहन्छ । हालसम्मका प्रयास र विदेशस्थित वैदेशिक नियोगहरूको प्रयत्न समेत र अन्तर्राष्ट्रिय परिस्थितिलाई ख्याल गर्दा लगानी सम्मेलनका लागि वातावरण अनुकूल छ । नीतिगत र आश्वस्त पारिएका विन्दुमा इमानदारिता देखाइ कार्यान्वयनमा सघाउ पुर्‍याउँदा लगानीबाट प्रचुर मात्रामा लाभान्वित भएका घटना ताजा छन् । लगानीकर्ताहरूमा विश्वास अभिवृद्धि गर्न र देशको हितका लागि लगानी सम्मेलन २०२४ भरोसायोग्य हुनेछ ।

(लेखक राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर हुनुहुन्छ)

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दीपेन्द्र बहादुर क्षेत्री

दीपेन्द्र बहादुर क्षेत्री अर्थशास्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया