तातो हावाको लहर अझै बढ्ने, सावधानी अपनाउन विज्ञको सुझाव

 बैशाख १७, २०८१ सोमबार ११:५८:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – केही दिनदेखि देशका धेरै भू–भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेकाले तातो हावाको लहर अझै बढ्ने भएको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही ठाउँमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा योभन्दा बढी मापन गरिएको जल तथा मौसम विज्ञान विभागकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यो क्रम वैशाख २० गतेसम्म जारी रहने मौसमविद्ले बताएका छन् ।आउँदो केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको विभागले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन् बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार यस वर्ष सबैभन्दा बढी ४३ दशमलव ६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख ८ गते यो तापक्रम रेकर्ड भइसकेको छ ।

तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असर जस्तै:– थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्तालगायत हुन सक्छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहन, बाहिरी वातावरणमा बढी नजान, घाममा बढी नजान, हल्का लुगा लगाउन, सुतीकाे कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न, टोपी लगाउन, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्बत, आदि) प्रशस्त मात्रामा पिउन स्वास्थ्यकर्मीले अनुरोध गरेका छन् ।

यस्तै स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत भनिएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया