तराई मधेशमा गर्मी झनै बढ्यो, डढेलो र आगलागीका घटना बढ्दा वायु प्रदूषण उच्च

 बैशाख १७, २०८१ सोमबार १७:५९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – आज तराई मधेशका जिल्लामा गर्मी झनै बढेको छ । एक हप्ताभन्दा बढी समयदेखि भइरहेकाे उखरमाउलो गर्मी आज झनै बढेपछि जनजीवन कष्टकर बनेको छ ।

आज तराई मधेशका धेरैजसो ठाउँको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै पुग्यो । दिउँसो रौतहट, पर्सा, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लाको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस आसपास पुग्यो ।

गर्मी अत्यधिक बढेका कारण दिउँसो तराई मधेशका बजार तथा बस्तीहरू सुनसान थिए । घरबाट बाहिर निस्कनै नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन् । तराई मधेशसँगै काठमाण्डौ उपत्यकासहित मध्यपहाडका धेरैजसो जिल्लामा पनि गर्मी बढेको छ ।

गर्मी अझै बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराईमा तातो हावाको लहर बढिरहेकोमा अधिकतम तथा न्यूनतम दुवै तापक्रम बढ्ने क्रममा रहेकाले तातो हावाको लहर अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आउँदा केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै विभागले चेतावनीसहितको सूचना जारी गरेको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, हल्का तथा सुतीका लुगा लगाउन, बाहिर निस्कनै परे टाउको छोपेर मात्र निस्कन, पटक–पटक पानी तथा जुस, सर्बतलगायतका झोलिलो प्रशस्त खान स्वास्थ्यकर्मीको सुझाव छ ।

यसैबीच गर्मी र सुक्खासँगै देशभर आगलागी र डढेलोका घटना पनि बढेकाे छ । आगलागी, डढेलो र सुक्खापनका कारण वायु प्रदूषण पनि बढेको छ । काठमाण्डौ विश्वका ठूला शहरहरूमध्ये सबैभन्दा बढी वायु प्रदूषित शहरको रूपमा रहेको छ भने काठमाण्डौको भन्दा पनि चितवनको अवस्था खराव छ ।

वातावरण विभागका अनुसार दिउँसो चितवनमा हावाको गुणस्तर मापन सूचक 'एक्यूआई' दुई सय ७८ पुग्यो । 'एक्यूआई' दुई सयभन्दा माथि पुग्नुलाई अति अस्वस्थकर मानिन्छ । काठमाण्डाैकाे शङ्खपार्कमा दिउँसो 'एक्यूआई' १८१ र पोखरामा १७९ 'एक्यूआई' पुगेको छ । 'एक्यूआई' एक सय ५० देखि दुई सयसम्म हुनु अस्वस्थकर हो । देशका अरू शहरमा पनि वायु प्रदूषण निकै बढेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया