जसपा विभाजनपछि वैकल्पिक समीकरण बनाउने प्रयासमा धक्का, सत्ता गठबन्धनमा असर नपर्ने

 बैशाख २४, २०८१ सोमबार ८:५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ –  सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को विभाजनले कांग्रेससहितको वैकल्पिक समीकरण बनाउने प्रयासमा धक्का लागेको छ । वर्तमान सत्ता गठबन्धनलाई भने यसले असर नपर्ने देखिएको छ । एकीकृत समाजवादी र जसपा नेपाल नहुँदा पनि सत्ता गठबन्धनमा बहुमत पुग्ने देखिन्छ ।

 २७५ सदस्यीय प्रतिनिधिसभामा एमालेका ७८, माओवादीका ३२, रास्वपाका २१ र अशोक राई पक्षका जसपाका सात सांसदको समर्थन हुँदा मात्रै पनि सरकारलाई बहुमत पुग्छ । नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षका दुई तथा प्रभु साह र दुई स्वतन्त्र सांसदको पनि सरकारलाई समर्थन कायमै छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने प्रयासमा लागेको चर्चा भइरहेको बेला जसपा विभाजन भएको हो । जसपाका कार्यवाहक अध्यक्ष एवम् सांसद अशोक राईको नेतृत्वमा सात सांसदसहित ३० केन्द्रीय सदस्यले नयाँ पार्टी गठनको प्रक्रिया शुरु गरेका छन् । राईले हिजो निर्वाचन आयोगमा नयाँ पार्टी गठनका लागि निवेदन दिनुभएको छ ।

प्रतिनिधिसभामा जसपाका १२ सांसद रहेकोमा राईसँगै प्रदीप यादव, सुशीला श्रेष्ठ, रञ्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खानले नयाँ पार्टी गठनमा साथ दिएका छन् । नयाँ दलको नाम  ‘जनता समाजवादी पार्टी ’ राख्ने निर्णय भएको छ ।

नयाँ जसपाको केन्द्रीय समितिका अध्यक्ष अशोक राई र सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ चयन भएका छन् । यस्तै रेणुकुमारी यादव सह–अध्यक्ष, नवलकिशोर साह सुडी, रणध्वज लिम्बू, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष छन् । मोहम्मद इस्तियाक राई महासचिव, प्रदीप यादव उपमहासचिव, रञ्जु ठाकुर सचिव र वीरेन्द्र महतो कोषाध्यक्ष हुने निर्णय भएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया