जीउभरि मासुका डल्ला, धनेश्वर भन्छन्: ठिक भइदिए त अर्को जुनी नै पाइन्थ्यो

 पुस २१, २०७५ शनिबार १५:९:९ | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरी गौशाला–१, का ३६ वर्षीय धनेश्वर महतोको शरीरभरि नै मासु पलाएको छ । उहाँको शिरदेखि पैतालासम्म जताततै मासुको पोको (डल्लो) पलाएको छ । उहाँको शरीरभरि मकैको दानादेखि आलुजत्रा मासुका थैला रहेका छन् ।

आफ्नो शरीरमा पलाएको मासु देखेर आफ्ना साथीहरुले समेत घिन मानेपछि स्कुल पढ्दा–पढ्दै १० कक्षा पास नगर्दै आफ्नो पढाइको यात्रालाई उहाँले टुंग्याउनुपर्‍यो । 

‘साथीहरु मलाई देखेर परपर भागेको, घिन मानेको सहनै सकिनँ, स्कुल जानै छाडेँ । सँगै पढेका साथीहरु अहिले कहाँ–कहाँ पुगिसके’, उहाँले गुनासो गर्नुभयाे । 

मकैको दानादेखि अण्डा वा आलु जत्रा मासुका थैला सुत्दा बस्दा पेलिएर असह्य दुख्छ । सुत्न बस्न नमिलेर छट्पटिइ–छट्पटिइ रात काट्दाको सकस बयान गरीसाध्य नभएको उहाँ बताउनुहुन्छ ।

‘ज्यानभरि फोकै–फोका छ, सानोतिनो कामबाहेक अरु केही गर्न सक्दैनन्, गर्हुंगो वस्तु बोक्न–उठाउन पनि सक्दैनन्, तर के गर्नु श्रीमान् हुन्, माया त आखिर लाग्छ नै’, धनेश्वरकी श्रीमती तिलादेवी महतो बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘श्रीमानको अवस्था हेरेर उहाँभन्दा बढी पीडा आफूलाई नै महसुुस हुन्छ, तर के गर्नु सबै सहेर बस्नुपर्छ ।’

धनेश्वर भन्नुहुन्छ, ‘ज्यान यस्तो छ, औषधि उपचार पनि नगरेको होइन, हजारौं हजार खर्च भइसक्यो तर, अलिकति पनि ठिक हुने नामै छैन । ठिक भइदिए त अर्को जुनी पाएको जस्तो हुन्थ्यो होला ।’

उहाँको यो जन्मजात समस्या हो । धनेश्वरको शरीरमा जन्मँदै औंलामा एउटा मात्र गिर्खा थियो । उहाँ झण्डै १ वर्षको हुँदा घरपरिवारले त्यो गिर्खालाई लौवा (हजाम) बाट काट्न लगाएपछि दिनदिनै शरीरभरि मासुको डल्ला पलाएको आमा रामवती देवी महतोले सुनाउनुभयो ।

उहाँले भन्नुभयो,‘जन्मँदा दाहिने हातको एउटा औंलामा एउटा गिर्खा मात्र थियो, पछि त्यसलाई काटेपछि बिस्तारै शरीरभरि नै मासु पलायो ।’ उहाँले भक्कानिँदै थप्नुभयो,‘हामीले त हातमा हुँदा राम्रो नदेखिने, तेल मालिस गर्न समेत असहज हुने भएर काट्न लगायाैं तर त्यसको पाप हामीलाई छोडेर मेरो छोरालाई लाग्यो।’ 

‘भनिन्छ, दैव नै दाहिना भएनन् भने कस्को के लाग्छ र ! दैवको देन होस् वा मेरो कर्मको फल जे छ त्यो त छँदैछ, तर म जस्तो पीडा अरु कसैले भोग्न नपरोस् भन्ने भगवानसँग म कामना गर्छु,’ धनेश्वर आफ्नाे पीडा सुनाउनुहुन्छ ।    

वर्षाैंदेखिको यो अथाह पीडाको सागरमा उहाँलाई घरपरिवार तथा छोराछोरीले असाध्यै माया एवम् स्नेह दिँदै आएका छन् । जसले उहाँलाई बाँच्न प्रेरणा मिलेको छ । 
 
 

    

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया