जंगलमा हराएका बालबालिका सेना र प्रहरीले उद्धार गर्‍यो, अभिभावक भन्छन् : धामीले भनेकाे मिल्यो

 माघ २१, २०७५ सोमबार २०:४१:२६ | बालकुमार शर्मा
unn.prixa.net

तस्बिर- वडाध्यक्षको फेसबुकबाट

जाजरकोट – अझै पनि जाजरकोटमा  बच्चा हराएपछि अभिभावक धामी हेराउन जाने चलन छ ।  

धामीले भोलि बच्चा भेटिन्छ भनेपछि उनीहरुको खोजी नगरेर अभिभावक घरमा गएर बस्छन् ।  तर भोलिपल्ट जनप्रतिनिधिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीयले खोजी गर्छन् र बालबालिका जंगलमा घाइते अवस्थामा फेला पार्छन् । अभिभावक भने धामीले भनेको मिल्यो भन्दै धामीको तारिफ गर्छन् ।

भर्खरै यस्तै घटनाको साक्षी बनेको जाजरकोटको पुन्मा गाउँ । जाजरकोटको जंगलमा हराएका दुई बालबालिकलाई नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेको छ । जाजरकोटको  भेरी नगरपालिका–६, पुन्माका दुर्गबहादुर पुनका ५ वर्षीय छोरा वीरबहादुर पुन र तिलक पुनकी ६ वर्षकी छोरी कविता पुनलाई जंगलवाट सेना र प्रहरीले उद्धार गरेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी  ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।

बस्नेतका अनुसार आइतबार घरमा आमाबुवा नभएको बेला दिउँसोको समयमा नजिकैको जंगलमा हराएका थिए ।  उनीहरुलाई वडा अध्यक्ष शशी ढाले फोनबाट खोजी गरिदिन आग्रह गरेपछि जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी जगतीपुरको प्रहरी टोली र नेपाली सेनाको ज्वालादल गण मालिका ब्यारेकका सेनाको टोली खटिएको थियो । उनीहरुले दुई जनालाई नै जंगलबाटै उद्धार गरेर ल्याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी रविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो  ।

घर नजिकैको बाटोमा आएका बाँदरलाई लखेट्न भन्दै जंगलतिर दौडिएका ती बालबालिकाहरु पुरै एक रात जंगलमा निकै पीडाका साथ रहेको र सोमबार बिहान मात्र प्रहरी र सेनाको टोलीले दुवै जनालाई घाइते अवस्थामा फेला पारेको प्रहरी प्रमुख सिंहले जानकारी दिनुभयो  ।

सिंहका अनुसार  बालिकाको टाउकोमा चोट लागेको र उनको अवस्था गम्भीर रहेकोले उनलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । बालकलाई भने जिल्ला  अस्पतालमा प्राथमिक उपचार गरी घर पठाइएको छ  । 

जंगलमा हराइरहेकी कविता झाडीमा खसेर घाइते बनेको अवस्थामा भेटिएकी थिइन् ।  वीरबहादुर भने खाल्डो परेको जमिनमा चिसोले काम्दै घोप्टो परेर सुतिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरमा बच्चा हराएपछि अभिभावकहरु धामी हेराउन गएको र धामीले भोलिपल्ट भेटिन्छ भनेपछि खोजी नगरेर उनीहरु घरमा गएर सुतेको पनि प्रहरीले जनाएको छ । 

बालिका कविताको पारिवारिक अवस्था दयनीय रहेको र उनको थप उपचारको लागि सरोकारवाला निकायले सहयोग गरिदिन आवशयक रहेको स्थानीयहरुले अनुरोधसमेत गरेका छन् ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया