‘रवीन्द्रजीले भन्नुभयो, राज्यले भएभरको शक्ति लगाएको छ बचेर हिँड्नू होला है’

 फागुन १६, २०७५ बिहिबार १८:५३:३७ | किरण लोहनी
unn.prixa.net

गोरखा – २०६२ साल वैशाख अन्तिमतिर, तत्कालीन नेकपा माओवादीका कास्की जिल्ला इञ्चार्ज कृष्ण धिताललाई पार्टीको सूचना विभागमा काम गर्ने सुदर्शन खतिवडाले खबर गरे, रवीन्द्र अधिकारी तपाईँलाई भेट्न चाहनुहुन्छ ।

गोरखा कार्यक्षेत्र भएका धिताललाई माओवादीले शहरी आन्दोलन उठानका लागि भन्दै कास्कीको इञ्चार्ज बनाएर पठाएको थियो । एकप्रकारले भन्ने हो भने, माओवादी जनयुद्ध उत्कर्षमा पुगेका बेला नेकपा एमालेका जिल्ला स्तरका नेताले भेट्न खोज्नुको पछाडि अनेक कारण हुन सक्थे । धितालले हुन्छ भनेपछि खतिवडाकै संयोजनमा दुई नेताबीच भेट भयो ।

‘बेगनास नजिकैको स्याङ्खुदीको भँगेरी गाउँमा सेल्टर लिएर बसेको थिएँ, खतिवडाजीसँगै उहाँ आउनुभयो, हातमा पत्रिका बोक्नु भएको थियो’, अधिकारीसँगको पहिलो भेट स्मरण गर्दै धितालले भन्नुभयो, ‘पत्रिका मलाई दिँदै यो तपाईँलाई काम लाग्न सक्छ भनेर ल्याएको, रवीन्द्रजीले पत्रिका दिँदै भन्नुभयो ।’ 

झण्डै दुई घण्टाको भेटघाटमा जनयुद्धबारे अधिकारीले आफ्नो दृष्किोण राख्नुभयो भने धितालले पनि केही सहयोगको अपेक्षा गर्नुभयो । हाल नेकपाका केन्द्रीय सदस्य रहेका धितालले भन्नुभयो, ‘जेलमा बसेका साथीहरुको अवस्था थाहा पाउन, पत्रपत्रिका उपलब्ध गराइदिन र मानवअधिकारकर्मी तथा पत्रकारहरुसँग सम्पर्क बढाइदिनका लागि मैले आग्रह गरेको थिएँ ।’  धिताल भन्नुहुन्छ, ‘ती सबै कुरामा रवीन्द्रजीको सकारात्मक सहयोग रह्यो ।’ 

जनयुद्धका क्रममा घाइते भएकाहरुको उपचार, आईसीआरसीसँग सम्बन्ध जोड्ने काममा तत्कालीन माओवादीलाई अधिकारीले सहयोग गरेको धितालले स्मरण गर्नुभयो । ‘पोखरामा भएका धेरै कार्यक्रममा उहाँले माओवादीलाई राजनीतिक ढंगले हेर्नुपर्छ भनेर भाषण पनि गर्नुभएको थियो’, धितालले भन्नुभयो, ‘हामीप्रतिको उहाँको व्यवहारमा कुनै ढाँटछल थिएन, व्यवहार एकदमै सफा थियो ।’ 

पोखराबाट अलि परको गाउँमा बसेका धिताललाई पोखराबाट पत्रपत्रिका पठाइदिनका लागि पनि अधिकारीले सहयोग गर्नुभएको थियो । त्यसपछि पनि कैयौं पटक दुई नेताको भेटघाट भयो । 

२०६४ सालको संविधानसभामा धिताल र अधिकारी दुवै सभासद् थिए । कैयौं पटकको भेटको कैयौं कुराकानीभन्दा पनि धिताललाई यो शोकको घडीमा पहिलो पटकको भेटमा अधिकारीले भनेको एउटै वाक्यको सम्झना आइरहेको छ, ‘रवीन्द्रजीले छुट्टिने बेलामा भन्नुभयो, ‘राज्यले भएभरको शक्ति लगाएको छ, बचेर हिँड्नू होला है, राजनीति त बाँचे मात्रै हुने हो ।’ 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया