माईभ्याली गोल्डकप: आर्मीलाई हराउँदै मेची नेत्रालय, झापा सेमिफाइनलमा

 चैत १, २०७५ शुक्रबार १९:१३:३६ | सुजता सुनुवार
unn.prixa.net

इलाम – मेची नेत्रालय झापा, इलाममा जारी पाँचौं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

पहिलो संस्करणको विजेता नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोलले हराउँदै झापा सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित र अतिरिक्त समयमा समेत १–१ गोलको बराबरीमा खेल सम्पन्न भएपछि टाइब्रेकरबाट विजेता निर्धारण गरिएको थियो । 

टाइब्रेकरमा झापाका विक्रम लिम्बू, योगेङ गुरुङ, विशाल राई र मिलन राईले गोल गरे भने भिक्टरको प्रहार आर्मीका गोलरक्षक विवश चौधरीले बचाउ गरेका थिए । 

आर्मीका तर्फबाट भने विकास तामाङ, रुपेश क्षेत्री र दीपकुमार लामाले गोल गरे । विवेक बस्नेतको प्रहार झापाका गोलरक्षक दिनेश थापा मगरले बचाउ गरेका थिए भने युद्ध शाहीको प्रहार गोल पोष्टबाट बाहिरिएको थियो ।

खेलको म्यान अफ दी म्याच घोषित विजेता झापाका दिनेश थापा मगरले नगद १० हजार रुपैयाँ प्राप्त गरे । 
सुरुवाती लिएको अग्रता आर्मीले खेल अवधिभर टिकाउन नसक्दा हार ब्यहोर्नु परेको थियो । आर्मीले दिपेन्द्र कार्कीको गोलबाट दोस्रो हाफको ५७ औं मिनेटमा अग्रता लिएको थियो । 

८५ औं मिनेटमा झापाका विकास राईले हेडरमार्फत गोल गरी खेल बराबरीमा ल्याए । त्यसपछिको समय र अतिरिक्त समयमा समेत गोल नभएपछि टाइब्रेकरमा विजेता निर्धारण गरेको थियो ।

शनिबारको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लब र विदेशी टिम क्यामरुनको दाउफिन्स क्लब आमनेसामने हुँदैछन् ।  

५ चैतसम्म चल्ने प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ  । माईभ्याली फुटबल क्लबको आयोजनामा जारी प्रतियोगिताका विजेताले नगद ७ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया