हिमालयन शेर्पालाई हराउँदै दाउफिन्स बन्यो माई भ्याली गोल्डकपको च्याम्पियन

 चैत ५, २०७५ मंगलबार १९:४०:३७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलाममा आयोजित अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप प्रतियोगिताको उपाधि जित्दै पाहुना टिम क्यामरुनको दाउफिन्स क्लब गोल्डकपको च्याम्पियन बनेको छ । 

इलामको खेलमैदान ठूलो टुँडिखेलमा मंगलबार भएको पाँचौं संस्करणको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई २–० गोल अन्तरले हराउँदै दाउफिन्सले सहज जित निकालेर उपाधि चुमेको हो । 

खेल सुरु भएको आठौँ मिनेटमा नै पहिलो गोलको खाता खोलेर दाउफिन्सले अग्रता लिएको थियो ।  दाउफिन्सका ३ नम्बरका खेलाडी यानिक ओहानाले पहिलो गोल गरी टिमलाई अग्रता दिलाएका थिए ।  निरन्तर दबाबमा राखेको शेर्पालाई पुनः १४ नम्बरका पेटाङगाले पहिलो हाफमा गरेको गोल नै उपाधिका लागि पर्याप्त बन्न पुग्यो । 

पेटाङ्गाले खेलको २० औं मिनेटमा दोश्रो गोल गरी टिमलाई उपाधि चुम्न सफल बनाएका थिए । पहिलो हाफमा कमजोर प्रर्दशन गरेको हिमालयन शेर्पाले दोश्रो हाफमा समेत खेल सुधार गर्न नसकेपछि उपविजेतामा नै चित्त बुझाउनु परेको हो । 

खेलको ६५ औं मिनेटमा हिमालयन शेर्पा १० खेलाडीमा सीमित भएको थियो । यसपछि भने शेर्पा झनै दबाबमा परेको थियो । हिमालयन शेर्पाका विदेशी खेलाडी ड्याडी वाम्बाले रेफ्री श्रवण लामालाई दुर्व्यहार गरेपछि रेडकार्ड पाएका थिए र उनी खेलमैदानबाट बाहिरिएका थिए । 

दाउफिन्स माई भ्याली गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको टिम हो । यो जितसँगै दाउफिन्सले यसै वर्ष नेपाली फुटबल प्रतियोगितामा चौथो उपाधि जितेको भएको छ । 

प्रतियोगिताका विजेता दाउफिन्सले नगद ७ लाख रुपैयाँसहित ट्रफी, मेडल प्राप्त गरेको छ । उपविजेतामा हिमालयन शेर्पा क्लबले भने ४ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । 

फाइनलको ‘म्यान अफ द म्याच’ उपविजेता हिमालयन शेर्पाका विशन गुरुङ घोषित भएका छन् । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन्  ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडी उपविजेता हिमालयन शेर्पाका गोलरक्षक किशोर गिरी घोषित भएका छन् । उनले टीभीएसको १६० सीसीको अपाचे मोटरसाइकल प्राप्त गरेका छन् ।

सर्वाधिक गोलकर्ता उपविजेता शेर्पा क्लबका सुनिल खड्का घोषित भए । उनले खेल अवधिभर ४ गोल गरेका थिए । उनलाई नगद ३५ हजार रुपैयाँ प्रदान गरिएको छ । 

उत्कृष्ट गोलरक्षक विजेता टिम दाउफिन्सका पिसो जाङगा, उत्कृष्ट डिफेन्डर आको बोटा, उत्कृष्ट मिडफिल्डर उपविजेता हिमालयन शेर्पाका त्रिदेव गुरुङ, उत्कृष्ट फर्वाड दाउफिन्सका पेटाङ्गा र उत्कृष्ट प्रशिक्षक दाउफिन्सकै कोम वोम्बा घोषित भएका छन् । उनीहरुले जनही नगद २५÷२५ हजार रुपैयाँ प्राप्त गरेका छन् । 

विजेता र उपविजेता टिम तथा खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार प्रदान गरेका थिए । गएको फागुन २६ गतेदेखि सञ्चालित प्रतियोगितामा तीन विदेशीसहित नेपालका ‘ए’ डिभिजन क्लब र विभागीय गरी १० टिमको सहभागिता थियो  । 

माई भ्याली फुटबल क्लब इलामको आयोजनामा भएको प्रतियोगिताको फाइनलको अवसर पारेर खेल सम्पन्न गर्न योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान समेत गरिएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया