खाेलामा राति फालेका फोहोरका पोका बिहानै दैलामै आइपुगेपछि...

 चैत १६, २०७५ शनिबार १४:३२:२१ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङजा – राति कसैले नदेख्ने गरी खोल्सामा लगेर फालेका फोहोरका पोकाहरु आफ्नै घरमा आइपुगेपछि  फोहर फाल्ने वालिङका व्यापारीहरु एक छिन त अलपलमा परे । 

सधैँ फोहर उठाउन आउने नगरपालिकाको टिपरबाट फोेहरका पोका निकालेर लौ तपाइको समान तपाइ नै राख्नुहोस् भन्दै दिदा व्यापारीहरु अचम्ममा परेका हुन् ।

वालिङ नगरपालिका वडा नम्बर-१०, फेदी मोेहोरिया टोलका स्थानीयवासीले नजिकैकोे खोल्सामा फोहर फाल्नेको पहिचान गरी घर-घर मा नै फोहोरका पोकाहरु पुर्‍याएपछि वालिङ बजारमा एकै छिन निक्कै चहलपहल भयो । 

बजारबाट अलि पर रहेको स्थानीय खोल्सामा त्यहाँका व्यापारीहरुले फोहोर फाल्ने कुराले स्थानीयवासी निक्कै तनावमा पर्दै आएका थिए । स्थानीय सरकार तथा वडालाई पटक-पटक गुहार्दासमेत फोहोर फाल्ने क्रम नरोकिएपछि स्थानीयहरुले रातको समयमा पालो लागाएर गोप्य रुपमा निरीक्षण गर्ने गरेका थिए ।

शनिबार सरसफाइको क्रममा खोल्सामा फालिएका फोहरका पोकाहरुमा रसिदसहित प्रमाण पुग्ने विभिन्न कागजपत्र भेटिएपछि वडा अध्यक्ष अनन्तराज गैह्रेमार्फत फोहरका पोकाहरु व्यापारीहरुका घर—घरमा नै पुगेर फिर्ता गरीएको हो । 

जथाभावी फोहोर फाल्ने व्यापारीहरुलाई आउने दिनमा यस्ता कार्य नगर्न सचेत गरेको वडा अध्यक्ष गैह्रेले जानकारी दिनुभयो । स्थानीयवासीहरु जथाभावी फोहोर फाल्न पाइँदैन, अरुलाई रोगी बनाउन पाइँदैन,फोहर फाल्नेलाई कारबाही गर लगायतका नारा लगाउँदै फोहर फिर्ता गर्न व्यापारीकहाँ पुगेका थिए ।

वालिङ बजारमा रहेको सुपङ इम्पोरियम, जुना ब्यूटीपार्लर, दिपेश शर्मा लगायतका फोहरका पोकाहरु उनीहरुलाई नै सचेत गराएर फिर्ता गरिएको टोल विकास समितिले जनाएको छ । फोहर जथाभावी फाल्ने व्यापारीहरुलाई कारबाही गरिने वडा नम्बर १० का अध्यक्ष अनन्तराज गैह्रेले बताउनु भयो ।

व्यापारीहरुको गुनासो नगरपालिकाले फोहर व्यवस्थित रुपमा उठाएन

वालिङका केही व्यापारीहरुले भने नगरपालिकाले फोहर व्यवस्थित रुपमा नउठाएको गुनासो गरेका छन् । व्यापारी नरेश केसीले भन्नुभयो ‘फोहर उठाउने गाडी बिहान ६ बजे नै आउँछ हामी बाहिरबाट आएर पसल खोल्नु पर्ने भएकाले केही ढिला हुन्छ’ उहाँले थप्नुभयो, ‘बिहान ८ बजेतिर फोहर उठाइदिनु पर्‍यो ।’ 

यता फोहर मैला व्यवस्थापन समितिका अध्यक्ष युगमाया पंगेनीले भने फोहर छुट्याएर दिनुपर्दा व्यापारीले झन्झट मानेको हुन सक्ने धारणा राख्नुभयो । उहाँले सबैले घरमा नै कुहिने र नकुहिने फोहर छुट्याएर नगरपालिकालाई दिन आग्रह गर्नुभयो ।

वालिङ नगरपालिका फोहरमैला व्यवस्थापनमा उत्कृष्ट भएर पटक-पटक पुरस्कृत हुँदै आएको नगर हो । नगरपालिकाले वडा नम्बर १ मा फोहरमैला जम्मा गरेर मल उत्पादन गर्नुका साथै नकुहिने समानलाई बिक्री गर्दै आएको छ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया