हावाहुरी पीडित भन्छन् : नेता र मन्त्री आए पनि भरपेट खान पाएका छैनौँ

 चैत १९, २०७५ मंगलबार २०:४२:९ | जयनारायण यादव
unn.prixa.net

बारा – फेटा गाउँपालिका–६, पुरैनियाकी कलमा खातुनका छोराबुहारी र छोरी यतिखेर वीरगञ्जमा उपचार गराइरहेका छन् । बितेको आइतबार साँझ आएको हावाहुरीले घाइते बनाएका खातुनका छोराबुहारी अस्पतालमा भर्ना भए पनि उहाँ अस्पतालमा जान पाउनु भएको छैन । 

उहाँलाई बिरामीको भन्दा पनि आफ्ना आठ र ६ वर्षीय नातिनातिनाको बासगासको चिन्ताले पिरोलिरहेको छ । हुरीले घर नै भत्काएपछि अहिले कहाँ बस्ने र के खाने भन्ने समस्या नै कलमा खातुनको पीडाको मुख्य कारण बनेको छ । भत्किएको घर नजिकैको खुल्ला चौरमा खुल्ला आकाशमुनि रात काट्न बाध्य उहाँ भन्नुहुन्छ, ‘राति शीत पर्छ, लामखुट्टेले टोक्छ र दिउँसो घाम लाग्छ । तर कहाँ जाउँ, कुनै ठाउँ छैन । कसैले त्रिपाल पनि दिएका छैनन् । खानेकुरा त जसोतसो मागेर बच्चाहरुलाई खुवाएको छु ।’ 

यस्तो समस्या  उहाँको मात्रै होइन, अहिले पुरैनिया, भलुही भरवलिया, हर्दिया परशुरामपुर, खुटवालगायतका ठाउँ हुरीले प्रभावित नागरिकको बिजोग छ । बालबालिका र बुढाबुढीलाई अझै समस्या छ । 

तीन दिन बित्न लाग्दा पपन कतैबाट बासको उचित व्यवस्था हुन नसकेकोमा निराश भएका छन्, हावाहुरी पीडित । पुरैनियाका ४५ जर्षीय समीर अन्सारी हावाहुरीले बचेको घरको नै पुरानो पाल टाँगेर कष्टकर जीवन कटाउनु परेको दुखेसो पोख्नुहुन्छ । 

उहाँले नेता र मन्त्रीहरु आएर आश्वासन मात्रै दिएको गुनासो गर्नुभयो । पीडितहरु भरपेट खानसमेत नपाएको गुनासो गरेका छन् । खुल्ला आकाशमुनि बस्दा आफूहरुलाई  लामखुट्टेले टोक्ने गरेका कारण अरु रोग लाग्ने हो कि भन्ने त्रासमै रात कटाउन परेको पुरैनियाका अर्का पीडित वाहब अन्सारी बताउनु हुन्छ ।

अहिले पीडितहरु कतिखेर कसैले चाउचाउ, बिस्कुट, पानी देलान् र भोक टार्न सकिएला भने आशमा बसिरहेका छन् । विभिन्न संस्था र व्यक्तिहरु राहत आफ्नो आफ्नो तरिकाले वितरण गरे पनि सबैले पाउन नसकेको पीडितहरुले गुनासो गरेका छन् । 

फेटा–५, का वडाध्यक्ष जाकिर अन्सारीले राहत वितरण एकद्वार नीतिले गर्न जिल्ला प्रशासन कार्यालय गुनासो गरे पनि कुनै सुनुवाइ नभएको बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया