मन्त्री अधिकारी सवार हेलिकप्टर दुघर्टना : ल्याब परीक्षणको लागि दुर्घटनास्थलमा मुख्य उपकरण नै भेटिएन

 चैत २५, २०७५ सोमबार ६:४०:२४ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डौ – तत्कालीन संस्कृति, पयर्टन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको ज्यान जानेगरी ताप्लेजुङमा भएको हेलिकप्टर दुघर्टनाको अनुसन्धानको लागि मुख्य काम नै प्रभावित भएको छ । ल्यावमा परीक्षण गर्नुपर्ने मुख्य उपकरण नै घटनास्थलमा नभेटिएकाले अनुसन्धान पूर्ण हुन नपाएको छानबिन समितिका सदस्यले उज्यालो अनलाइनलाई बताएका छन् । 

गएको फागुन १५ गते एअर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङमा दुर्घटना हुँदा तत्कालीन पर्यटनमन्त्री अधिकारीसहित सात जनाको ज्यान गएको थियो । १५ गते बेलुकी नै बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा सहायक रथी दीपक बास्तोला, क्याप्टेन प्रमोद लामा र पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य रहेको छानबिन समिति गठन गरेको थियो ।

समितिले एकपटक ताप्लेजुङ पुगेर घटनास्थलमा भेटिएका हेलिकप्टरका पाजपूर्जा ल्याएर आएको छ । तर ल्याब परीक्षणको लागि चाहिने दुर्घटनाग्रस्त हेलिकप्टरको उपकरण नै नभेटिएको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव तथा समितिका सदस्य बुद्धिसागर लामिछानेले जानकारी दिनुभयो ।

‘हामीले अनुसन्धान त गरिरहेका छौं, काम रोकेका छैनौं, तर ल्याबमा परीक्षणको लागि जुन सामान चाहिने हो त्यो पाउन सकेका छैनौं’ सहसचिव लामिछानेले भन्नुभयो, ‘हामीले पहिलो लटमा ताप्लेजुङ पुगेर केही सामग्री ल्यायौं, तर परीक्षणको लागि चाहिने बस्तु भेटिएन त्यसैले फेरि खोजेर थप मेहनत आवश्यक देखिएको छ ।’

हराएको उपकरण ल्याबमा परीक्षण गरेपछि हेलिकप्टरका तथ्यांक र दुघर्टनाका बेलामा भएको संवाद तथा पछिल्लो अवस्था भेटिन सक्ने पनि उहाँले जानकारी दिनुभयो । 

छानबिन समितिलाई सघाउन फ्रान्सबाट टोली नेपाल आएको थियो । टोलीले छानबिन समितिसँगै सहकार्य गरेर अनुसन्धानमा सघाए पनि ल्याब परीक्षणको लागि आवश्यक दुघर्टनाग्रस्त हेलिकप्टरको एक मुख्य उपकरण नै नभेटिएकाले टोली फिर्ता गएको छ ।

मौसममा सुधार आउनेबित्तिकै टोली फेरि दुर्घटनास्थल जाने र हराएको उपकरण खोजिने पनि उहाँले जानकारी दिनुभयो । छानबिनका अरु काममा भने कुनै ढिलाई नभएको पनि उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया