सलमान खानका कारण होइन आफ्नै योग्यताले काम पाइरहेको छु: अरबाज खान

 बैशाख १३, २०७६ शुक्रबार १६:२०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड अभिनेता, निर्देशक तथा निर्माता अरबाज खान २ दशकदेखि बलिउड उद्योगमा छन् । आजसम्म आइपुग्दा पनि अरबाज खान यस अघिका वर्षहरु झैं सक्रिय भएर काम गरिरहेका छन् ।

अरबाज खान बलिउडका सुपरस्टार सलमान खानका भाइ हुन । तर उनले आफ्ना दाइको कारणले नभइ आफ्नो कडा मेहनत र क्षमताका कारण आज सम्म पनि काम पाइरहेको बताएका छन । 

मिडियासँगको कुराकानीमा अरबाजले भने, ‘मैले अहिलेसम्म झण्डै ७० वटा फिल्ममा काम गरिसकेको छु । तर यहाँ यस्ता व्यक्तिहरु पनि छन् जसले २ वटा फिल्मपछि अभिनय गर्ने मौका नै पाएका छैनन् । म पछिल्लो २ दशक देखि फिल्म उद्योगमा छु । म सलमान खानको भाइ हो भन्दैमा मलाइ सधैंभरी कसैले काम दिँदैन । सलमानको नामले मलाइ एक वा दुई फिल्ममा काम दिन सक्लान् तर कसैले पनि मेरो करियर बनाउन सक्दैनन् । मैले मेरो योग्यताका कारण काम पाइरहेको छु ।  चाहे त्यो राम्रो होस् वा नराम्रो होस् । म आफ्नै परिश्रमले आफ्नो खुट्टामा उभिएको छु ।’

अरबाज खान भारतीय सिनेमाका चर्चित स्क्रिप्ट राइटर सलिम खानका छोरा हुन| ।  उनले सन् १९९६ मा अब्बास मस्तानको फिल्म ‘दरार’ बाट बलिउड डेब्यू गरेका थिए । यस फिल्ममा अरबाजको जोडीको रुपमा अभिनेत्री जुही चावला थिइन् । त्यसपछि अरबाजले ‘प्यार किया तो डरना क्या, हेल्लो ब्रदर, कयामत, हलचल, शुटआउट एट लोखण्डवाला’ जस्ता सुपरहिट फिल्ममा काम गरिसकेका छन् । त्यस बाहेक उनका केही फिल्म बक्सअफिसमा खासै सफल भएनन् । 

त्यसपछि उनले सन् २०१० मा अरबाज खान प्रोडक्शन कम्पनी सुरु गर्दै फिल्म निर्माण र निर्देशनमा पनि हात हाले । उनको प्रोडक्शन कम्पनीले पहिलो फिल्मको रुपमा ‘दबंग’ निर्माण गर्‍यो । सलमान खानको मुख्य भूमिका रहेको यो फिल्म सुपरहिट सावित भयो । त्यस पछि ‘दबंग २’ निर्माण गर्‍यो । त्यो फिल्म पनि सुपरहिट भयाे । 

अरबाजले आफ्नो करियरमा मिलिरहेको सफलताले आफू धेरै नै खुशी रहेको बताउँदै भने, ‘मैले मेरो डेब्यू फिल्मबाट अवार्ड पाएको थिएँ । मेरो करियरमा उतार चढावहरु आउँदै गरे र मैले काम पनि पाइरहेँ । मलाइ जे राम्रो लाग्यो मैले त्यो काम गरेँ । मैले कैयौं भूमिका निर्वाह गर्नुअघि यो कहिल्यै सोचिनँ कि त्यसले मेरो करियरमा राम्रो असर गर्नेछ वा नराम्रो असर गर्नेछ ।’

अरबाज खान यतिबेला ‘दबंग ३’ को निर्माण गरिरहेका छन् । यस फिल्मको निर्देशन प्रभु देवाले गरिरहेका छन् । सलमान खानको मुख्य भूमिका रहने फिल्म ‘दबंग ३’ मा सोनाक्षी सिन्हा, माही गिल, टीनू आनन्द लगायतको अभिनय रहनेछ ।  
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया