डाक्टर केसीको अनसनस्थल परिवर्तन गर्नुपर्ने भन्दै चिकित्सक संघ उत्रियो आन्दोलनमा

 असार १८, २०७५ सोमबार १३:५८:३८ | नेत्र शाही

जुम्ला – जुम्लामा ३ दिनदेखि अनसनरत रहेका डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि सुरक्षित स्थानमा लैजानुपर्ने चिकित्सकहरुले माग गरेका छन् । 

नेपाल चिकित्सक संघ कर्णाली शाखाका उपाध्यक्ष प्रविणकुमार गिरीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा  अनसनस्थल सुरक्षित स्थानमा सारिनुपर्ने विषयमा जिल्ला प्रशासन कार्यालयले सुनुवाई नभएको भन्दै असार १८ गतेबाट प्रदेश ६ का सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई कालो पट्टी बाँधी काम गर्न र २४ घण्टाभित्र सुनुवाई नभएमा असार १९ बाट आकस्मिक सेवाबाहेक सबै सेवा वन्द गर्ने बाध्य हुने तथा अनुसार गर्न गराउन समेत निर्देशन समेत गरिएको छ ।  

नेपालको चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाका लागि असार १६ गतेबाट कभर्डहलमा कैदी सरह राखिएकाले त्यस स्थलमा आवश्यक साधनस्रोतहरुको अभाव भएकाले सुरक्षित स्थानमा सारिनुपर्ने  विज्ञप्तिमा जनाइएको छ । 

जिल्ला खेलकुद विकास समितिको खुला कभर्डहलमा अनसनमा रहेका डाक्टर केसीको समस्या बढ्दै गएको चिकित्सकहरुले बताएका छन् । डाक्टर केसीको पिसाब पनि रोकिन थालेको, मासु फर्किने, ढाड दुख्ने, रिंगटा लाग्ने समस्या सुरु भएको उपचारमा खटिएका डाक्टरहरुले  बताएका छन् । 

डाक्टर केसीको रक्तचाप, नाडी र स्वासप्रश्वास भने ठिक भएको तर अनसनको अवस्थामा कतिबेला के हुन्छ भन्न नसकिने डाक्टर धिरज गुरुङले बताउनुभयो । 

स्थानीयको दबाब 

केसीको जीवनरक्षाका लागि भन्दै स्थानीयले राष्ट्रिय मानव अधिकार आयोगलाई दबाब दिएका छन् । यो अवस्थामा मानव अधिकार आयोगले पनि केसीलाई सुरक्षित स्थानमा लैजान पहल गर्न अनुरोध गरेका छन् ।

नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले यो घटनाप्रति आयोगको धारणा चाँडै पर्खाईमा भएको बताउनुभयो । अनसनस्थलमा गएका राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाका निमित्त प्रमुख धनराज शाहीले डा.केसीको अवस्थाको वारेमा मानव अधिकार आयोग निकै प्रथामिकताका साथ निगरानीमा लागिरहेको र केन्द्रसँग निरन्तर समन्वय भैरहेको बताउनुभयो । उहाँले डाक्टर केसीसँग प्रत्यक्ष भेटघाट भई अवस्थाको जानकारीसमेत लिइएको बताउनुभयो । 

स्वास्थ्य क्षेत्रका विभिन्न मागहरुसहित आफ्नो १५ औँ अनसन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रोजेका डाक्टर केसी असार १५ गते जुम्ला आउने बित्तिकै स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई अनसन निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिष्ठानमा अनसन बस्न रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका केसीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइएपछि केसीले प्रहरी कार्यालयबाटै अनसनको घोषणा गरेपछि प्रहरीले तत्काल रिहा गरी जिल्ला खेलकुद विकास समितिको हलमा पुर्‍याएको थियो । 

केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रविण गिरी, डा. धिरज गुरुङ, डाक्टर सिद्धार्थ खत्रीसहितको चिकित्सकको टोली उपचारमा खटिएको छ । 

    

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया