'भारतसँगको खेलमा पाकिस्तानले यी गल्ती दोहोर्‍याउन सक्दैन'

 जेठ ३१, २०७६ शुक्रबार ९:३४:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

एकदिवसीय विश्वकप क्रिकेटअन्तर्गत बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको थियो । 

हारपछि पाकिस्तानी क्रिकेट टिमका कप्तान सरफराज अहमदले यदि भारतलाई हराउने हो भने फिल्डिङमा सुधार गर्नुपर्ने बताएका छन् । भारत र पाकिस्तानको बहुप्रतिक्षित खेल आगामी आइतबार अर्थात् जुन १६ मा म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा हुँदैछ । 

पाकिस्तानको खराब फिल्डिङका कारण आसिफ अलीले स्लिपमा अष्ट्रेलियाका कप्तान आरोन फिन्चको क्याच छोडेका थिए । जुन समय फिन्च ३३ रन बनाएर खेलिरहेका थिए । 

त्यसपछि फिन्चले ८४ बलमा ८२ रन बनाए र अर्का ब्याट्सम्यान डेभिड वार्नरसँग एक सय ४६ रनको साझेदारी गरे । डेभिड वार्नरको एक सय सात रनको मद्दतमा अष्ट्रेलियाले तीन सय सात रनको योगफल तयार गरेको थियो । 

तीन सय आठ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको पाकिस्तान टिम ४५ दशमलव ४ ओभरमा दुई सय ६६ रनमा समेटियो । 

खेल सकिएपछि सरफराजले पत्रकारसँग भनेका थिए, ‘जब दुई राम्रा टिम खेलिरहेका छन् भने फिल्डिङले निकै अन्तर गर्दछ । खराब फिल्डिङका कारण हामीले रन बनाउन दियौँ ।’ यदि पाकिस्तानले भारतलाई हराउने हो भने यति ठूलो गल्ती गर्न नसक्ने सरफराजले बताएका छन् । 

‘हाम्रो फिल्डिङ धेरै राम्रो छैन र भारतसँगको भेट अघि हामी मेहनत गर्नेछौँ । भारत मजबुत टिम हो र भारतसँग यस्तो गल्ती जारी राख्ने हो भने खेल जित्ने मौका नै मिल्दैन’, सरफराजले भने । 

पाकिस्तानले अष्ट्रेलियाविरुद्ध राम्रो सुरुवात गरेको थियो र जित्नको लागि तीन सय आठ रन चाहिएको थियो । पाकिस्तानले २६ ओभरसम्म मात्र दुई विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । तर त्यसको तीन ओभरभित्र इमाम-उल-हक, मोहम्मद हफीज र शोएब मलिक आउट भए । 

सरफराजले भने, ‘हामीले राम्रो सुरुवात गरेको थियौँ तर साझेदारी गर्न सकेनौँ । हामीले १५ बलभित्र तीन विकेट गुमायौँ र त्यही नै खेलमो टर्निंग प्वाइन्ट थियो ।’

अष्ट्रेलियाविरुद्ध ५५ रन बनाएका इमामले पनि भारतसँगको खेलमा आफ्नो पूरा क्षमताका साथ खेल्ने बताएका छन् । 

विश्वकप क्रिकेटमा भारत र पाकिस्तान अहिलेसम्म ६ पटक आमने-सामना भएका छन् । जसमा ६ वटै खेल भारतले जितेकाे छ । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारत सधैँ हावी हुँदै आएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया