विश्वकप क्रिकेट : श्रीलंकालाई हराएर शीर्ष स्थानमा उक्लने दाउमा अष्ट्रेलिया

 जेठ ३२, २०७६ शनिबार ८:४३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वकपको साविक विजेता अष्ट्रेलियाका लागि जारी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्धको खेल अंक तालिकाको शीर्ष स्थानमा पुग्ने अवसर हुनेछ ।

अष्ट्रेलियाले शनिबार दिउँसो नेपाली समयअनुसार सवा ३ बजे प्रतियोगितामा कमजोर देखिएको पूर्व विजेता श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । 

शुक्रबार राति वेष्ट इण्डिजलाई ८ विकेटले हराएसँगै इंग्ल्याण्ड दोस्रो स्थानमा उक्लिएपछि ४ खेलबाट ६ अंक जोडेको अष्ट्रेलिया अंकतालिकाको तेस्रो स्थानमा छ । इंग्ल्याण्डको पनि समान ६ अंक नै छ भने न्यूजिल्याण्ड ७ अंकसहित शीर्ष स्थानमा छ । 

श्रीलंकालाई पराजित गरेमा अष्ट्रेलिया शीर्ष स्थानमा पुग्नेछ । यसअघि पाकिस्तानलाई ४८ रनले पराजित गरेको खेलमा ओपनर डेविड वार्नरले शतक प्रहार गरेका थिए ।

अष्ट्रेलियाले यस विश्वकपमा सन्तुलित प्रदर्शन गरिरेको छ । बल टेम्परिङ प्रकरणपछि प्रतिबन्ध झेलेर पुनरागमन गरेका वार्नर र स्टिभ स्मिथले आफूलाई पुनः प्रमाणित गरिसकेका छन् । श्रीलंकाविरुद्धको खेलमा पनि उनीहरु नै निर्णायक हुन सक्नेछन् । 

बलिङमा मिचेल स्टार्कको फास्ट बलिङ निर्णायक बनिरहेको छ । अष्ट्रेलियालाई स्पिन आक्रमण अहिले चिन्ताको विषय हो । नाथान ल्योनले श्रीलंकाबिरुद्धको खेलमा टिममा फर्कने अपेक्षा गरिएको छ । 

प्रतियोगिताको सुरुवाति २ खेलको विश्लेषण गर्दा श्रीलंकाली टोली यसपल्ट निकै कमजोर देखिएको छ । इंग्ल्याण्डको पिचमा उसका ब्याट्सम्यानहरुले अफगानिस्तानविरुद्ध समेत संघर्ष गर्नुपरेको थियो । 

अष्ट्रेलियाविरुद्ध जित हासिल गर्ने हो भने श्रीलंकाले ब्याटिङ बलिङ र फिल्डङ गरी तीनै पक्षमा आफ्नो स्तर सुधार गर्नुपर्नेछ । एन्जेलो म्याथ्युज, लसिथ मालिंगा, थिसरा परेराजस्ता अनुभवी खेलाडीले आफ्नो लय भेट्टाउन सकिरहेका छैनन् । अष्ट्रेलियाजस्तो टोलीविरुद्ध उनीहरुकै निर्णायक प्रदर्शनको आशा गरिन्छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया