दुई पटक उद्घाटन भएको फिदिम बसपार्क अझै सञ्चालनमा आएन

 असार २२, २०७६ आइतबार १९:२०:४२ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – सञ्चालनको लागि भन्दै दुई पटक उद्घाटन गरिएको फिदिम बसपार्क अझै पनि सञ्चालनमा आउन सकेको छैन । 

फिदिम-२, पल्लोटारमा निर्माण गरिएको बसपार्कमा यातायात व्यावसायीले सवारी पार्किङ गर्न नलैजाँदा बसपार्क नाम मात्रैको भएको छ । यहाँ कुनै सवारी साधन पार्किङ हुँदैनन् ।

यो बसपार्क सञ्चालनको लागि यसअघि दुई पटक उद्घाटन गरिसकिएको छ । विसं २०७१ सालमा तत्कालीन प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले उद्घाटन गर्नुभएको बसपार्क गएको वर्ष मंसिरमा फेरि तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीबाट सञ्चालन गर्ने भन्दै उद्घाटन गरिएको थियो ।

फिदिम-२ पल्लोटारमा बसपार्क निर्माण भएपछि बजारमा हुने सवारी चापको समस्याबाट मुक्ति पाउने बजारवासीको चाहना पूरा हुन सकेको छैन । बसपार्कमै सवारी साधन पार्किङ गर्न फिदिम नगरपालिकाले नगर प्रहरी र  ट्राफिक प्रहरीको टोली खटाए पनि जिल्लाका यातायात व्यावसायीहरुले बसपार्क बजार क्षेत्रभन्दा टाढा भएको र बसपार्क क्षेत्र साँघुरो भएको भन्दै सवारी साधन पार्किङ गर्न मानेका छैनन् ।

बसपार्कमा सवारी साधन पार्किङ गर्ने विषयमा यातायात व्यवसायीसँग पटक-पटक छलफल गरेर सहमति भए पनि व्यावसायीहरुले कार्यान्वयन नगरेको बसपार्क भौतिक पूर्वधार निर्माण समितिका संयोजक तथा फिदिम-२ का वडाध्यक्ष सुकपाल तुम्बापोले बताउनुभयो । 

निर्माण भएको बसपार्क सञ्चालन गर्नुको विकल्प नभएकाले बसपार्कलाई सञ्चालनमा ल्याउन अब रणनीतिक तरिकाले लाग्ने वडाअध्यक्षको भनाइ छ ।

बसपार्क निर्माणको लागि विसं २०५५ सालमा स्थानीय १० जनाले १० रोपनी जग्गा निःशुल्क दिएपछि बसपार्क निर्माण गरिएको थियो । 

फिदिम-१ शनिबारेमा रहेको अस्थायी बसपार्क साँघुरो भएको भन्दै पल्लोटारमा बसपार्क निर्माण गरिएको हो ।

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया