मनोरञ्जन क्षेत्रलाई कसरी दुर्व्यवहाररहित बनाउने

 साउन ९, २०७६ बिहिबार ६:३८:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – बेलाबेलामा प्रहरीले होटल रेस्टुराँबाट यौनकर्मी पक्राउ गर्ने गरेको छ । कतिपय अवस्थामा १८ वर्ष मुनिका बालिकासमेत फेला परेका छन् । डान्सबारमा अहिले पनि बालिका र किशोरीको प्रयोग भइरहेका छन् । उनीहरु यौन दुर्व्यवहारमा पर्ने गरेको घटनासमेत बेलाबेलामा देखिँदै आएको छ ।

पछिल्लो अध्ययनलेसमेत मनोरञ्जन क्षेत्रमा बालबालिकाको प्रयोग भइरहेको देखाएको छ । अन्य क्षेत्रभन्दा होटल रेस्टुरामा बालिका तथा किशोरी र यातायत क्षेत्रमा बालक श्रममा प्रयोग हुने गरेको यथार्थ हो ।

यसरी प्रयोग भइरहेका बालबालिकालाई कसरी श्रम शोषण र यौन दुर्व्यवहारबाट मुक्त गराउने भन्ने विषय बेलाबेलामा चर्चा चल्ने गरे पनि ठोस कदम भने कतैबाट गरिएको पाइँदैन । बोलीमा हुने गरे पनि व्यवहारमा भने कार्यान्वयन नहुँदा बालबालिकाको शोषण कायमै छ ।

काठमाण्डाै प्रहरीले भने बालबालिकाको प्रयोग रोकेर मनोरञ्जन क्षेत्रलाई कसरी मर्यादित बनाउने भनेर बहस शुरु गरेको छ । समुदायसँग नमिली कार्यक्रम सफल हुने नदेखेपछि प्रहरीले सो विषयमा होटल व्यवसायीसँगै समुदाय तथा जनप्रतिनिधिसँग छलफल चलाउन थालेको छ ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्वयं समुदायलाई सक्रिय सहभागिता गराउने गरी अभियान चलाउनु जरुरी रहेकाले यो प्रयास थालिएको महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताउनुभयो ।

सुवेदीले भन्नुभयो, “बालबालिकाको प्रयोग तथा यौन दुर्व्यवहारका घटनाका विषयमा प्रहरीमा सूचना नै आउँदैन, हामी खोजीखोजी जानकारी लिनुपर्छ, त्यसैले होटल रेस्टुराँको अवस्था बुझेर सञ्चालकलाई बालयौन दुर्व्यवहार तथा बालश्रमरहित एवं मर्यादित मनोरञ्जन क्षेत्र बनाउन प्रशिक्षणसमेत दिन थालेका छौँ ।”

नेपालको कानूनले १८ वर्षमुनिकालाई बालबालिका मानेको छ । कार्यस्थलमा हुने यौन दुर्व्यवहार (निवारण) ऐन २०७१, श्रम ऐन, बालबालिकासम्बन्धी ऐन २०७५ ले बालबालिकाको कुनै पनि काममा बालश्रमलाई प्रतिबन्ध लगाएको छ ।

परिसरका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले यस्ता गतिविधि नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले प्रहरीले समुदाय साझेदारी कार्यक्रम ल्याएको बताउनुभयो । सोही कार्यक्रमअन्तर्गत बालबालिकाको प्रयोगलाई रोक्न समुदायसँग विभिन्न कार्यक्रम सञ्चालन भइरहेको उहाँ बताउनुहुन्छ । 

काठमाण्डाै महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले प्रहरी, स्थानीय समुदाय, स्थानीय तह र मिडियाको सामूहिक प्रयासमा मात्रै यौन दुर्व्यवहार तथा बालयौन शोषण रोक्न सकिने उल्लेख गर्नुभयो ।

“सडकमा कसैलाई मगन्तेका रुपमा हेर्न नपरोस्, कोही पनि यौन दुर्व्यवहारमा पर्न नपरोस्, भनेर महानगरले पनि कार्यक्रम राखेको छ, घटना रोक्न धेरैभन्दा धेरै चेतना जगाउनुपर्छ, सबै एकजुट हुनुपर्छ”, खड्गीले भन्नुभयो ।

पछिल्लो समयमा ‘न्यूइरा’ नामक संस्थाले २०१८ मा गरेको एक अध्ययनले काठमाण्डाैमा मात्रै एक हजार ६५० बालबालिका मनोरञ्जन क्षेत्रमा रहेको देखाएको छ । अध्ययनको तथ्याङ्कबारे जानकारी दिँदै चेतना अभिवृद्धि केन्द्र (क्याप) नेपालका कार्यक्रम व्यवस्थापक अमित तिमिल्सिनाले ६० प्रतिशत बालबालिका यौन दुर्व्यवहारमा पर्ने गरेको र त्यसमध्ये छ प्रतिशतमा गम्भीर किसिमको यौन शोषण हुने गरेको उल्लेख गर्नुभयो ।

प्रहरी र क्याप नेपालले आज काठमाण्डाैमा ‘बालयौन दुर्व्यवहार तथा बालश्रमरहित एवं मर्यादित मनोरञ्जन क्षेत्र बनाउने’ विषयमा अन्तक्र्रिया गरेको छ । सहभागीले सामूहिक प्रयासमा मात्रै बाल यौन दुर्व्यवहारका घटना रोक्न सकिने बताएका थिए ।

कार्यक्रममा प्रहरी नायब उपरीक्षक पोखरेलले रोजगारीको अवसर खोज्न, छिट्टै पैसा कमाउने उद्देश्य र पारिवारिक समस्याका कारण बालबालिका शहरमा आउने गरेको पाइएको जानकारी दिनुभयो । उहाँका अनुसार यस्ता बालबालिका यौन शोषण, बेचबिखनमा पर्नुका साथै मनोरञ्जन क्षेत्रमा प्रयोग हुने गरेका छन् ।

जसका कारण होटल व्यवसायप्रति नै नकारात्मक दृष्टिकोण पैदा हुने भएकाले स्वयं व्यवसायी सचेत हुनुपर्ने पोखरेलले बताउनुभयो । बालबालिकाले चेतनामूलक गीतिनाटक प्रस्तुत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया