मानव अधिकारकर्मी भेट्न आउँदा डाक्टर केसीका आँखा रसाए

 असार २८, २०७५ बिहिबार २०:१४:२५ | नेत्र शाही

जुम्ला – चिकित्सा शिक्षा विधेयकको माग गर्दै १३ दिन देखि जुम्लामा  अनसनरत रहेका डाक्टर गोविन्द केसीको जीवन राज्यका लागि प्रमुख रहेको मानव अधिकारकर्मीहरुले बताएका छन् । 

नेपाल मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष इन्द्र अर्यालले डा. केसीलाई भेटेर स्वविवेक पुर्याउन अनुरोध गर्नुभएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा अनसनमा रहेका डा. केसीलाई भेटेर अर्यालले भन्नुभयो, ‘हामी तपार्इँको जीवन त्यसै जान दिँदैनौ तर परिस्थिति अनुसार कठिनाई हुने भएमा तपाईँले पनि सोच्नु पर्नेछ ।’ अर्यालले यसो भनिरहँदा डा. केसी निकै भावुक देखिनु हुन्थ्यो । उहाँका आँखा रसाएका थिए । 

यसैगरी मानव अधिकार संगठन र  नागरिक समाजले जुम्ला सदरमुकामको मुख्य बजारमा रहेको कृष्ण मन्दिरमा कोणसभा समेत सम्पन्न गरेको छ । कोणसभामा बोल्दै मानव अधिकार संगठनका केन्द्रीय अध्यक्ष अर्यालले लोकतन्त्र संविधानमा मात्र लेखेर नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सबैले बोल्न पाउने, हिँड्न पाउने अधिकार छ । त्यसैले डा. केसीका मागहरु जायज भएकाले सरकारले पूरा गर्नुपर्छ ।’ 

यसैगरी डा. केसीको आन्दोलनका अभियन्ता डा. जीवन क्षेत्री पनि जुम्ला आइपुग्नु भएको छ । कोणसभामा बोल्दै डा. क्षेत्रीले भने राज्यले जसरी पनि डा. गोविन्द केसीका माग पूरा गर्नुपर्ने बताउनुभयो । 

यसैगरी कोणसभामा बोल्दै नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले  जुम्लाले केसीको माग कर्णालीकै लागि भएकाले साथ दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कर्णालीले ठिक समयमा नबुझेका कारण अधिकार गुम्दै गएकाले यो समय कर्णालीका लागि उपयुक्त आवाज दिनुपर्छ  ।’ 

एयर लिफ्टिङको हल्ला 

स्वास्थ्य अवस्था कमजोर हुँदै गएपछि दुई दिनदेखि सरकारले एयरलिफ्ट गरी काठमाडौं लैजाने प्रयास गरे पनि डा. केसीले नमानेपछि सफल हुन सकेको छैन् । वुधबार सरकारले हेलिकप्टर पठाएर केसीलाई काठमाडौं लैजाने प्रयास गरेको चर्चा चलेको थियो । 

निषेधित क्षेत्र कायमै

डा. केसीको अनसनलाई मध्यनजर गर्दै गएको असार १६ गते प्रतिष्ठानसहित जिल्ला प्रशासन कार्यालय परिसर , जिल्ला प्रहरी कार्यालय पसिरलाई निषेधित क्षेत्र कायम गरिएको थियो । यी क्षेत्रभन्दा दुई सय मिटरभित्र कुनै पनि र्याली, कार्यक्रम, अनसन गर्न नपाइने स्थानीय प्रशासनले सूचना जारी गरेपछि जिल्ला खेलकुद विकास समितिको कभर्डहलबाटै सुरु भएको डाक्टर केसीको अनसन आज १३ औँ दिनमा पुगेको छ ।  

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया