बिरामीको मृत्युपछि भक्तपुरकाे नागरिक अस्पतालमा दिनभर तनाव

 भदौ २१, २०७६ शनिबार २०:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर - बिरामीको मृत्यु भएपछि मध्यपुरथिमि नगरपालिका-३, गठ्ठाघरमा रहेको नागरिक कम्युनिटी अस्पताल दिनभर तनावग्रस्त बनेको छ ।

बिहीबार भर्ना भएर शुक्रबार शल्यक्रिया गरी मिर्गौला झिकेको सिन्धुपाल्चोक ईन्द्रावती नगरपालिका ६ का ५२ वर्षीय रामचन्द्र कोइरालाको उपचारको क्रममा शनिबार मृत्यु भएपछि आईसीयूमा कार्यरत नर्सहरुको लापर्वाहीले बिरामीको मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घेराऊ गरेर नाराबाजी गरेका हुन् । 
नाराबाजी, घेराऊ गर्ने क्रममा पीडित पक्षले अस्पताल तोडफोड गर्न खोजेपछि बेलुका ७ बजे पीडित पक्ष र प्रहरी बिच झडप भएको थियाे । अस्पताल भित्रै पीडित पक्षले नाराबाजी गरेर तोडफोड गर्न खोजेपछि सामान्य बल प्रयोग गर्नु परेको प्रहरीको भनाइ छ ।

बाबुको मृत्युपछि बिरामी भएर त्यसै अस्पतालको आकस्मिक कक्षमा उपचारमा रहेका मृतक कोइरालाका छोरा सागरले शुक्रबार सफल शल्यक्रिया भएर स्वास्थ्य अवस्था सुधार भइसकेकोमा नर्सहरुको लापर्वाहीले बाबुको ज्यान गएको आराेप लगाउनुभयो ।

नर्समाथि छानबिन गरी कारबाही गर्नुपर्ने, आउँदा दिनमा यस्ता गल्ती नदोहर्याउने प्रतिबद्धता गर्ने र मृतक परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै माग पुरा नभएसम्म बाबुको शव नउठाउने उहाँले बताउनुभयो । 

मृतककी बुहारी सावित्री कोइरालाले दुईवटा छोरा, बुहारी आईसीयू कक्ष बाहिर कुरेर बसे पनि नर्सले अप्ठ्यारो पर्दा खबर नगरी एक्कासी लडेर घाइते भएको खबर गर्न आएको बताउनु भयाे । 

अस्पतालका मेडिकल डाइरेक्टर प्रा.डा. राकेश बर्माले अस्पताल र नर्सको कुनै कमजोरी नभएको दावी गर्दै शौचालय गएका बिरामीलाई एक्कासी हदयाघात भएकाले ज्यान गएको बताउनुभयो ।

अस्पताल र मृतक पक्षबीच शनिबार अबेरसम्म भएको वार्ता असफल भएपछि आफन्तले अस्पताल घेराऊ गरेर नाराबाजी गरेका हुन् ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया