ढकमक्क फुलेका सयपत्री फूलले सजिए लमजुङका गाउँघर !

 कात्तिक ९, २०७६ शनिबार १९:१९:५१ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – सुन्दरबजार नगरपालिका ६ ऐंसेलुचौरकी शान्ता सुनारको घर वरिपरि ढकमक्क फूल फुलेका छन् ।

आँगन, बारीको डिलमा पहेँलपुर फुलेका फूलले उहाँलाई तिहार आएको महसुस गराएको छ । फूल र रंगको पर्वको रुपमा चिनिएको तिहार नजिकिएसँगै घर वरपर फुलेका फूललाई उहाँले जतनका साथ जोगाइ राख्नुभएको छ ।

‘रंगीचंगी फूल फुलेका छन् । ढकमक्क फूलले तिहार आएको आभास गराएको छ’, उहाँले भन्नुभयो, ‘तिहार नजिकिँदैछ । दाजुभाइलाई टीका लगाइदिँदा फूलको माला चाहिन्छ, त्यसैले जतनका साथ फूल जोगाइरहेको छु ।’

शान्ताले बर्सेनि तिहारमा आफ्नै घर–आँगन, बारी र कान्लामा फुलेका फूलको माला दाजुभाइलाई लगाइदिँदै आउनुभएको छ । उहाँले अहिलेसम्म बजारमा पाइने कृत्रिम माला र फूल पनि किन्नुभएको छैन । 

उहाँका अनुसार तिहारलाई आवश्यक पर्ने फूल आँगन र बारीका डिलमा उत्पादन गर्न सकिन्छ । आवश्यक फूल घरगाउँमै उत्पादन गर्नसके सजावटी फूल किन्ने पैसा जोगिन्छ । 

घरमै फुलेको, आफैँले टिपेर गाँसेको सयपत्री, मखमली, गुर्दौली फूलको माला दाजुभाइलाई लगाइदिनुको महत्त्व बेग्लै हुने लमजुङको फेदीकुना ढकाल गाउँकी कविता ढकाल बताउनुहुन्छ । ‘त्यसरी दाजुभाइलाई फूलको माला, सप्तरंगी टीका लगाइदिँदाको महत्त्व र खुशी छुट्टै हुन्छ,’ उहाँले थप्नुभयो । 

पछिल्लो समय तिहारमा घरमै फुलेको फूलको मालाभन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति संस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । तिहारका साथै विभिन्न पर्व, मेला, उत्सव र कार्यक्रममा फूल र फूलको मालाको माग बढ्दो छ । फूल र फूलको मालाको मागसँगै मूल्य पनि राम्रो छ ।

व्यवसायिक रुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने व्यवसायीहरु बताउँछन् । आयातित फूल, माला किन्नुभन्दा घरमै फूल हुर्काउनसके कृत्रिम फूल र माला किन्ने पैसा जोगिन्छ । र मौलिक सँस्कार, सँस्कृतिको संरक्षणमा पनि टेवा पुग्छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया