गौचरन बन्यो औद्योगिक क्षेत्र, सरकारलाई छैन वास्ता

 साउन ५, २०७५ शनिबार १९:४३:४३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सरकारको बेवास्ताका कारण राजविराजको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र गौचरन बनेको छ ।

यो औद्योगिक क्षेत्रको पर्खाल अघिल्लो साल बाढीले भत्काएको थियो । तर एक वर्ष बितिसक्दा पनि घेराबार समेत हुन नसक्दा अहिले बस्तुभाउको चरन क्षेत्र बनेको हो । २४ वर्षअघि भारतको सहयोगमा निर्माण भई नेपाल सरकारलाई हस्तान्तरण गरिएको यो औद्योगिक क्षेत्र सरकारी उपेक्षाका कारण अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।

औद्योगिक क्षेत्रभित्र निर्माण गरिएका भौतिक संरचना समेत उचित मर्मतसम्भारको अभावमा जीर्ण बनेका छन् । एक वर्षअघि नै ठाउँठाउँमा पर्खालको इँटा भत्काएर औद्योगिक क्षेत्रभित्रका दर्जनौं सिसौका रुख चोरी–तस्करी गरिसकिएको छ ।

अहिले पर्खाल समेत नहुँदा भवनको झ्यालढोकालगायत सामान चोरी हुने सम्भावना बढेको राजविराज नगरपालिका–९, मलेठका गंगाई यादवले बताउनुभयो । औद्योगिक क्षेत्र निर्माण गर्ने बेलामा यहाँका बासिन्दाले खुशी भएर जग्गा दिए पनि सञ्चालनमा नआउँदा निराश बनेको उहाँले बताउनुभयो । 

औद्योगिक क्षेत्रको संरक्षण र सम्बद्र्धन तथा सञ्चालनका लागि खासै पहल हुन नसकेकोमा सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानले चिन्ता व्यक्त गर्नुभयो । औद्योगिक क्षेत्रमा वर्षौंदेखिका समस्याको पहिचान गरी सञ्चालनका लागि तत्काल पहल हुनुपर्ने उहाँको भनाई छ ।

 

औद्योगिक क्षेत्र सुरु भएसँगै नेपाल आयुर्बेद मेडिसिन, सरस्वती मेटल उद्योग, प्लाष्टिक दाना उद्योग, महालक्ष्मी खाद्य उद्योगलगायत उद्योग केही समय सञ्चालन भए पनि त्यसपछि बन्द भए । औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख दीपक आचार्यले औद्योगिक क्षेत्र गौचरन बनेको स्वीकार गर्नुभयो । औद्योगिक क्षेत्रमा पोहोर भत्किएको पर्खाल लगाउन १८ लाख रुपैयाँ आवश्यक पर्ने विवरणसहितको इष्टिमेट तयार गरेर दिए पनि बजेट नआएका कारण काम हुन नसकेको उहाँको भनाई छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड विकास समितिले मर्मतसम्भारका लागि ६ लाख रुपैयाँ विनियोजन गरे पनि त्यो पनि प्राप्त नभएको उहाँले बताउनुभयो । औद्योगिक क्षेत्रको दूरावस्थाबारे रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवले आफू चिन्तित रहेको भन्दै केन्द्र सरकार र प्रदेश सरकार गम्भीर हुनुपर्ने बताउनुभयो । गाउँपालिकाको बजेटले नभ्याउने भएकोले आफूले समेत औद्योगिक क्षेत्रको संरचना सुधार, व्यवस्थापन र सञ्चालनका लागि पहल गरिरहेको उहाँको भनाई छ ।  
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया