स्नातक पास गरेको छु, फर्केर नेपालमै काम गर्छु

 माघ ५, २०७६ आइतबार १२:९:२१ | मेरो कथा मेरो भोगाई

जितेन्द्र कुमार महतो/महोत्तरी

मलेसिया, कतार, साउदी.. । गाउँमा सबैको मुखमा यिनै शब्द झुण्डिएका थिए । अहिले पनि छ । मलाई पनि एकपटक विदेश गएर हेरौँ न भन्ने लाग्यो । सन् २०१६ को डिसेम्बरमा म मलेसिया गएँ ।

बहिनीको बिहेमा दाइजो दिँदा लागेको केही ऋण थियो । त्यो तिर्नुपर्ने जिम्मेवारी हामी दाजुभाइकै थियो । हुन त त्यति पैसा नेपालमै पनि कमाउन सकिहाल्थेँ । तर त्यही हल्लाहल्लामै म विदेश गएँ ।

म मलेसियाको वेस्ट एण्ड डिजिटल स्याण्डिक्स कम्पनीमा गएको थिएँ । अहिले पनि त्यही कम्पनीमा नै काम गरिरहेको छु । सेल्सको काम हो । काम सजिलो छ । कमाइ पनि मासिक ८५ हजार नेपाली रुपैयाँ भन्दा बढी नै हुन्छ । 

आफूले चाहेको बेला घर आउन पाइन्छ । म अरुको देशमा आएर काम गरिरहेको छु भन्ने अनुभव नै हुन्न । 

यो दशैँमा छुट्टीमा घर आएको थिएँ । दुई महिना बसेँ । विस्तारै गाउँघरकै मायाले तान्न थाल्यो । फर्केर मलेसिया जानै मन लागेको थिएन । तर फर्किन्छु भनेर छुट्टीमा आएको मान्छे यतै बसेर त भएन नि । कम्पनीमा मेरो नराम्रो असर पर्छ ।

अहिलेसम्म कमाएको विश्वास टुट्छ । त्यही भएर पनि एकपटक जाउँ र दुई चार महिना बसेर कम्पनीको नियमअनुसार नै काम छाडेर नेपाल फर्कौं भन्ने भयो ।

घरबाट पनि अब देशमै केही काम गर भन्छन् । दाइले पनि अब यतै व्यवसाय गर भन्नुभएको छ । मेरो मनले पनि त्यही भन्छ । 

महोत्तरीको गौशालामा हामी दाजुभाइको जुत्ता पसल छ । अझै अरु दुई चार ठाउँमा यस्तै पसल खोल्ने सोच पनि छ । नभए पनि स्वास्थ्य विषयमा स्नातक गरेको छु । गाउँमै कामको अवसर त जति पनि पाइन्छ । 

विदेश गएर मनमा जागेको भूत मरिसक्यो । उमेर ३० वर्ष भइसक्यो । बिहे पनि गर्नुपर्छ । बिहे गरेपछि विदेश जाने कुरै भएन । 

अब केही गरिन्छ त देशमै गरिन्छ । विदेशमा जति राम्रो भए पनि घरगाउँमा जति राम्रो त कहाँ हुन्छ र ?
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • बिदुर थापा

    Jan. 19, 2020, 6:44 p.m.

    भाइकाे काम दाम दुबै राम्राे छ भनेकाे सुन्छु त्याे कम्पनि मा त काेरिया बराबर कमाइ हुन्छ रे अरु केहि समय बसेर पाे जाने हाे कि

  •  0 Reply

तपाईको प्रतिक्रिया