अन्तर प्रदेश लोक सेवा आयोगको साझा धारणा, कर्मचारी भर्ना प्रक्रिया सुरु गरिने

 फागुन १६, २०७६ शुक्रबार ९:४९:२९ | हरि हुमागाईं
unn.prixa.net

हेटौँडा – अन्तर प्रदेश लोक सेवा आयोगको हेटाैँडामा सम्पन्न प्रथम कार्यशाला गोष्ठीले साझा अवधारणा तथा प्रतिबद्धता पत्र २०७६ जारी गरेको छ । 

वाग्मती प्रदेश लोक सेवा आयोगको आयोजनामा लोक सेवा आयोग गठन भएका प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश नम्बर ५ ले पालिका र प्रदेशमा कर्मचारीको अभावका कारण काम गर्न समस्या भएकाले तत्काल कर्मचारी भर्ना पक्रिया सुरु गर्ने भएका छन् ।

चार प्रदेशका पदाधिकारी, प्रदेशका प्रमुख सचिव र अन्य प्रदेशका कर्मचारीसहितको हेटौँडामा सम्पन्न कार्यक्रमले निजामती सेवासम्बन्धी प्रचलित कानुनबमोजिम पद सङ्ख्या निर्धारण गरी पदपूर्ति गर्ने प्रतिबद्धता जनाएको हो । कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ बमोजिम प्रदेश वा पालिकाकाे सेवासम्बन्धी कानुन नबने पनि त्याे कानुन नबनेसम्म पदपूर्ति गर्ने भएको हो ।

कर्मचारी समायोजनपछि प्रदेश सरकारका निकाय र पालिकामा रिक्त रहेका माथिल्ला पदहरूमा भर्नाको जटिलतालाई फुकाउन सङ्घीय निजामती सेवा ऐनमा विशेष व्यवस्था आवश्यक देखिएको वाग्मती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठले जानकारी दिनुभयो ।

प्रदेश लोक सेवा आयोगहरूले आ–आफ्नो नियमावली, पाठ्यक्रम लगायतका नीतिगत व्यवस्थाहरू गरी २०७७ साल असारभित्र समायोजन ऐन २०७५ बमोजिम परीक्षा सञ्चालन गर्ने गरी वार्षिक कार्यतालिका तयार गर्ने साझा प्रतिबद्धता जनाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । आयोगको कार्य सम्पादनमा प्रभावकारिता अभिवृद्धि गर्न अनलाइन प्रणाली सुरु गर्ने, प्रदेश सरकार र सबै पालिकालाई रिक्त पदमा पदपूर्तिका लागि तोकिएअनुसारकाे ढाँचामा माग पठाउन तत्काल पत्राचार गर्न चार वटै प्रदेश एकमत भएका छन् । 

प्रदेश सरकार तथा पालिकालाई आवश्यक पर्ने जनशक्ति पदपूर्तिमा प्रदेश लोक सेवा आयोगको प्रभावकारी कार्यान्वयनमा आफ्नो बुद्धि, विवेक र समय उपयोग गर्न प्रतिबद्धता व्यक्त गर्ने साझा धारणा बनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया