घुस लिँदा नगदको सट्टा जिन्सी लिने प्रवृत्ति बढ्यो : अख्तियार

 फागुन १८, २०७६ आइतबार १७:४३:१२ | भवानीप्रसाद पाण्डे
unn.prixa.net

रुपन्देही - रुपन्देहीमा स्थानीय तह र शिक्षासँग सम्बन्धित उजुरी धेरै पर्ने गरेकाे तथ्याङ्क सार्वजनिक भएकाे छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले आइतबार आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तर्क्रिया कार्यक्रममा अख्तियारमा परेका १ हजार ९९ उजुरीमध्ये ३९३ स्थानीय तह र ३०२ शिक्षासँग सम्बन्धित रहेको आयाेगका उपसचिव रमेश ढकालले जानकारी दिनुभयो ।

उपभोक्ता समितिबाट हुने अनियमितता, निर्माण तथा खरिद कार्यमा प्रतिस्पर्धा नगराइनु, नदीजन्य पदार्थको अवैध निकासी, दोहोरो भुक्तानी, बढी भुक्तानी, विद्यालयको भौतिक सुधार, विद्यालय भवन शाैचालय निर्माण, नक्कली अध्यापन अनुमति पत्र, नक्कली शैक्षिक प्रमाण पत्रजस्ता उजुरीका प्रकृति रहेको अख्तियारको बुटवल कार्यालयले बताएको छ ।

अख्तियार बुटवलका प्रमुख डाक्टर भिष्मकुमार भुसालले घुस लिँदा नगदको सट्टा जिन्सी लिने,अर्कैको खातामा रकम जम्मा गराउने तथा बिचौलियाको प्रयोग गर्ने प्रवृत्ति बढेको बताउनु भयो ।

उहाँले घुसभन्दा कमिसनको अवस्था भयावह रहे पनि कमिसन लिएका उजुरी भने आउने नगरेको बताउनु भयो । अख्तियारको क्षेत्राधिकार बाहिरका उजुरीसमेत आउने गरेको भन्दै प्रमाण सहितका उजुरी दिन अख्तियार प्रमुख डाक्टर भुसालले आग्रह गर्नुभयो ।

माघ मसान्तसम्म अख्तियारमा सबैभन्दा बढी रुपन्देहीका ४५५ उजुरी परेका छन । कपिलवस्तुका २४१, नवलपरासी पश्चिमका १९७, अर्घाखाँचीका १९७, गुल्मीका ९२, पाल्पाका ८९, नवलपरासीका पूर्वका ७० तथा रोल्पाका ३६ रहेका छन् ।

बुटवल कार्यालयले अहिलेसम्म २२ वटा स्टिङ अपरेसन गरी ३४ जनालाई पक्राउ गरेको छ र उनीहरुबाट १० लाख ६२ हजार घुस रकम बरामद गरेको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भवानीप्रसाद पाण्डे

रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया