सुदूरपश्चिम प्रदेश : २ सय ५९ जनाको कोरोना रिपोर्ट नेगेटिभ

 चैत २९, २०७६ शनिबार ११:८:२२ | रासस
unn.prixa.net

कैलाली - कोरोना भाइरसको बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरसका शङ्कास्पद एक हजार ६९५ व्यक्तिको नमुना सङ्कलन गरिएकामा प्रयोगशाला परीक्षणबाट २५९ नमुनाको नतिजा नेगेटिभ आएको छ ।
 
यहाँ शुक्रबार आयोजित ‘कोभिड–१९ मिडया ब्रिफिङ’ मा प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले सङ्कलित नमुनामध्ये एक हजार ४३२ नमुनाको नतिजा आउन बाँकी रहेको जानकारी दिनुभयो ।

प्रदेशमा एक महिला र तीन पुरुष गरी चार जनामा कोरोरनाको सङ्क्रमण भएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पतालमा धनगढीमा उपचाररत कोरोना सङ्क्रमित चारै जनाको स्वास्थ्य अवस्था सामान्य छ ।
 
शुक्रबारसम्म आरडिटी टेष्ट किटबाट कैलालीका ४८९, कञ्चनपुरका १३७ र डोटीका २१३ जनाको रगतको नमुना परीक्षण जाँच गरिएकामा सबैको नतिजा नेगेटिभ आएको कार्कीले जानकारी दिनुभयो । क्वरेण्टीनमा बसेका सबैको आरडिटी माध्यमद्वारा रगतको नमुना जाँच गर्ने लक्ष्य छ । नमुना जाँचमा पोजेटिभ नतिजा आउनेको स्वाब सङ्कलन गरी परीक्षण गरिने जनाइएको छ ।
 
क्वरेण्टीनमा बस्नेहरु थपिदै
 

प्रदेशका विभिन्न ठाउँमा व्यवस्था गरिएका क्वरेण्टीनमा शङ्कास्पद बिरामी थपिने क्रम बढ्दै गएको छ । शुक्रबारसम्म जम्मा ५६ बालबालिकासहित दुई हजार ५१३ क्वरेण्टीनमा बसेका छन् । बिहीबारसम्म क्वोरेन्टाइनमा ५६ बालबालिकासहित दुई हजार ४६६ बसेको तथ्याङ्क थियो । यस्तै बिहीबारसम्म १७ विभिन्न अस्पतालको आइसोलेसनमा बसेकोमा शुक्रबार दुई जना थपिएका छन् । आइसोलेसनमा बसेकामध्ये ५८ सामान्य उपचारपछि फर्किको जनाइएको छ ।

 होम क्वरेण्टीनमा बस्नुपर्ने गरी घर पठाइँदै
 
क्वरेण्टीनमा कति दिन बस्नुपर्ने भन्नेमा सम्बन्धित व्यक्तिमा अन्योलता बढिरहेको बेला १४ दिन क्वरेण्टीनमा बसिसकेका व्यक्तिको हकमा उनीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने सुनिश्चितता गरी घर पठाउने तयारी गरिएको छ ।

स्वास्थ्य महाशाखाका प्रमुख कार्कीले सङ्क्रमित क्षेत्रबाट आई प्रदेशका विभिन्न क्वरेण्टीनमा १४ दिन बसिसकेका व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा वा आरडिटी ९¥यापिड डाइग्नोसिस टेस्ट० परीक्षण नतिजा नेगेटिभ आएमा त्यस्ता व्यक्तिलाई थप सात दिन निजकै घरमा क्वरेण्टीन बस्ने सुनिश्चितता गरी घरपठाउने तयारी गरिएको जानकारी दिनुभयो । आरडिटी परीक्षणमा नतिजा पोजेटिभ आएका व्यक्तिलाई भने थप सात दिन क्वरेण्टीनमा नै राखी थप जाँचको काम गर्न लागिएको छ ।
   
   स्वास्थ्य सामग्री प्राप्त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सुदूरपश्चिम प्रदेशमा शुक्रबार मात्रै ४० थान चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पिपीइ प्राप्त भएको छ । यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पाँच हजार थान आरडिटी टेस्ट किट प्राप्त भएको छ ।

सुदूरपश्चिम प्रदेशमा कोभिड–१९को व्यवस्थापनका लागि सहजीकरण र क्षमता अभिवृद्धि गर्न खटिएको स्वास्थ्य सेवा विभागका डा भीमसिंह टिङ्करीको नेतृत्वको टोली शुक्रबार धनगढी पुगेको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया