क्वरेण्टीनमा बसेकाहरुकाे दैनिकी : काेही डाेकाे बुन्दै, काेही टाेपी र स्वीटर बुन्दै

 बैशाख २२, २०७७ सोमबार ७:४८:४१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – कतै क्वरेण्टीन नै नभएको, भएका पनि अव्यवस्थित भएको अनि कतैका क्वरेण्टीनमा जिल्लाबाहिरबाट आएकाहरु बस्न नमानेको पाइन्छ । तर, रुकुम पूर्वको भूमे गाउँपालिकामा बनाइएको क्वरेण्टीनमा भने फरक व्यवस्था रहेको छ ।

भूमे गाउँपालिका १ मा रहेकाे सिद्धचौर मावि लुकुममा बनाइएको क्वरेण्टीनमा बसेका पुरुषले डोको र महिलाले उन, टोपी तथा स्वीटर बुन्ने गरेको छन् । विभिन्न जिल्लामा अलपत्र परेका मजदुर र विद्यार्थीलाई गाउँपालिकाले उद्धार गरेर ल्याएको थियो । अहिले त्याे क्वरेण्टीनमा १४ महिला र १६ पुरुष गरी जम्मा ३० जना रहेका छन् ।

गएकाे वैशाख ११ गते क्वरेण्टीनमा राखिएका उनीहरुले घरपरिवारसँग डोका बुन्नको लागि निँगालो तथा उन र स्वीटर बुन्नको लागि आवश्यक सामग्री मागेर काम गर्ने गरेका छन् । क्वरेण्टीनमा यस्ताे व्यवस्था भएपछि आफूहरूलाई दिन बिताउन सजिलो भइरहेको उनीहरुले बताएका छन् । खानपिन, सरसफाइ, स्वास्थ्य जाँच, सुरक्षालगायत नियमित राम्रै व्यवस्था रहेको क्वरेण्टीनमा रहनुभएकी ज्ञानु पुन मगरले बताउनुभयो ।

प्रत्येक दिन वडाध्यक्ष र चार जना सदस्यहरूलाई क्वरेण्टीनकाे अनुगमन तथा व्यवस्थापनको जिम्मेवारी दिइएको छ । वडा सदस्य नविन्द्र पुनका अनुसार क्वरेण्टीनमा बसेकाहरुले निँगालोबाट डोको, मान्द्रो तथा घरायसी चिजवस्तुलाई सुरक्षित राख्नका लागि विभिन्न सामग्री निर्माण गर्ने गर्दछन् ।

यसैगरी भेडाकाे उनबाट पानी पर्दा तार्नका लागि ग्वाला जादा लगाउने गुम, बुकुलगायत ओछ्याउने काम्लो निर्माण गर्ने गरेका छन् । त्यसैगरी बजारको धागो किनेर टोपी, स्वीटरलगायत सामग्री निर्माण गरेर बेच्ने तथा आफूहरूले प्रयोजन गर्ने गर्दछन् । क्वरेण्टीनमा बसेकाहरुले एकातिर आम्दानी हुने र अर्काेतर्फ आफूहरूको दैनिक समय व्यस्त र स्वच्छ वातावरणमा बितिरहेकाे बताएका छन् ।

भूमे गाउँपालिकामा वडा नम्बर १ मावि लुकुममा ३०, वडा नम्बर ३ मावि सीमामा आठ, त्यही वडाको झुम्लाबाङमा १० र वडा नम्बर ४ को आधारभूत विद्यालय साकिममा ६ गरी ५४ जना क्वरेण्टीनमा रहेका छन् भने तीन सय १० जना होम क्वरेण्टीनमा रहेको गाउँपालिकाले जनाएको छ । क्वरेण्टीनमा बसेकाहरुको स्वास्थ्य अवस्था सामान्य छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया