लकडाउनको कारण मध्यपहाडी लोकमार्गको काम रोकियो

 जेठ ४, २०७७ आइतबार १७:३६:० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - लकडाउनका कारण कालोपत्रेको काम अन्तिम चरणमा पुगेकाे मध्यपहाडी लोकमार्गको काम राेकिएकाे छ ।

रुकुम पूर्वको भुमे पाथिहाल्नादेखि रुकुम पश्चिमको चौरजहारीसम्म कुल १ सय २३ किलोमिटर लामो पुष्पलाल मध्यपहाडी लोकमार्गको सडकखण्डमा सात वटा उप-खण्ड कायम गरिएको छ। 

यसमध्ये दुईवटा उप-खण्ड अन्त्तर्गत ३२ किलोमिटर गएको वर्ष नै कालोपत्रे भैसकेको, तीनवटा उप-खण्डको ६७ किलोमिटरमा आउँदो असार समान्तसम्म कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम थालिएको थियो । 

तर, कालोपत्रेको काम अन्तिम चरणमा पुगेका बेला कोरोना भाइरसको कारण भएको लामो लकडाउनले काम ठप्प भएकाे छ । सरकारले विशेष सावधानी अपनाएर निर्माणको कामलाई अघि बढाउन सकिने भनेर भनेपनि राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको रुकुम पूर्व-पश्चिम खण्डको निर्माणको काम भने रोकिएको छ ।

 स्वास्थ्य सावधानी अपनाउँदै ठूला आयोजनाहरु सञ्चालन गर्न सरकारले भन्छ । तर, यस परियोजना लकडाउनको बहानामा साढे एक महिनायता रोकिएको छ । 

जनशक्ति र सामग्रीको अभाव : निर्माण व्यवसायी

लकडाउनका कारण घर गएका कामदार नफर्केको र अन्य प्राविधिक समस्याका कारण काम रोक्नुपरेको लोकमार्ग निर्माण जिम्मा लिएका कम्पनीहरुको भनाइ छ ।

निर्माण व्यवसायी संघ रुकुम पश्चिमका अध्यक्ष समिरजंग मल्लले जिल्लामा दक्ष जनशक्ति नभएकोले व्यवसायीहरुलाई काम सञ्चालनमा समस्या आएको बताउनुभयो । उहाँले आवश्यक सामाग्रीहरु स्टक नहुँदा पनि काम नियमित गर्न नसकेको उल्लेख गर्नुभयो । 

मजदूरको सट्टा मेसिनले काम गराउन आग्रह : आयोजना कार्यालय

मध्यपहाडी लोकमार्ग आयोजनाको कार्यालय दैलेखले व्यक्तिगत सुरक्षालाई ध्यान दिएर काम गर्न सकिने बताएको छ । तर, मेसिनमार्फत गरिने कामसमेत चालक नहुँदा प्रभावित बनेको छ ।

मध्यपहाडी लोकमार्ग कार्यालय दैलेखका सब-इन्जिनियर तेजेन्द्रकुमार चन्दले सामाजिक दूरी कायम गरेर मजदूरले भन्दा पनि मेसिनले काम गर्ने कुरालाई प्राथमिकता दिनु भनेर सहजिकरण गरिरहेको जनाउनुभयो । 

स्थानीय जनशक्ति उपयोग गर्ने मौका : प्रजिअ

रुकुम पश्चिमका प्रमुख जिल्ला उपेन्दराज पौड्यालले यसअघि काममा रहेका कामदारलाई जिल्ला बाहिरबाट कार्यक्षेत्रमा फर्काउदा कोरोना भाइरस संक्रमणको जोखिम हुनसक्ने भन्दै स्थानीयलाई नै निर्माणको काममा जोड्न भनेको जनाउनुभयो ।

प्रजिअ पौड्यालले कार्यरत बाहिरी जिल्लाका मजदूरहरुलाई फेरी यतायता गराउदा जोखिम बढ्ने भएकाले यहीका मजदुरहरु परिचालन गर्न अनुरोध गरेको बताउनुभयो । मजदुर र मालसामानको समस्या देखाएर निर्माण व्यसायीहरुले काम रोक्ने बहाना गर्न नपाउँने उहाँले स्पष्ट पार्नुभयो ।

 जिल्लामा अरु पनि विकास निर्माणका आयोजनाहरु रहेपनि कतिपयलाई लकडाउन बहाना बनेको छ भने कतिलाई निर्माण रोक्नु बाध्यता रहेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया