सङ्खुवासभामा भूकम्पले भत्काएकाे मध्ये १ हजार ३४ निजी घर निर्माण सम्पन्न

 जेठ ९, २०७७ शुक्रबार १९:५३:१४ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा – सङ्खुवासभामा भूकम्पले भत्काएकोमध्ये एक हजार ३४ निजी घर निर्माण सम्पन्न भएको छ । २०७२ साल वैशाख १२ गते गएको महाभूकम्पले सङ्खुवासभामा धेरै मानिसको घर क्षतिग्रस्त पारेको थियो ।

कालो दिनको रुपमा सम्झिने गरेको महाभूकम्पले धेरै मानिसहरुको उठिबास गराएकाे थियो । १० वटा पालिका रहेको सङ्खुवासभा जिल्लामा पाँच वटा नगरपालिका र पाँच वटा गाउँपालिका रहेका छन् ।

जिल्लाभरमा कुल दुई हजार पाँच सय तीन निजी घरहरु भत्किएको थियो । जसमा दुई हजार ५७ घर पूर्णरुपमा क्षतिग्रस्त र चार सय ४६ घर आंशिक रुपमा भत्किएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ सङ्खुवासभाका प्रमुख नवीनकुमार देवले बताउनुभयो । 

अहिलेसम्म कुल एक हजार ३४ घर पुननिर्माण भएको उहाँले बताउनुभयो । ‘गाउँ-गाउँमा पुननिर्माण भएको निजी घरहरुमा मानिसहरु बसोबास गर्न थाल्नुभएको छ । कतिपयले आंशिक क्षतिलाई मर्मत गरेर समेत घरमा नै बसिरहनुभएको छ । अझै कतिपयको निर्माणको काम भइरहेको छ । अहिले लकडाउनले निर्माण सामग्री लैजान समस्या भएको खबर आएको छ’, प्रमुख देवले भन्नुभयो ।  

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ सङ्खुवासभाको तथ्याङ्क अनुसार भोटखोला गाउँपालिकामा २४, चैनपुर नगरपालिका एक सय, चिचिला गाउँपालिकामा ४८, धर्मदेवी नगरपालिकामा ७९, खाँदबारी नगरपालिकामा दुई सय ९५, मादी नगरपालिकामा एक सय सात, मकालु गाउँपालिकामा एक सय १५, पाँचखपन नगरपालिकामा ९४, सभापोखरी गाउँपालिकामा ६० र सिलिचोङ गाउँपालिका एक सय ६० गरी कुल एक हजार ३४ घर निर्माण सम्पन्न भएको हो । 

भूकम्प प्राधिकरणले क्षतिग्रस्त निजी आवास पुनर्निर्माणका लागि जस्तापाताले छाएको, एक तले, दुई कोठे घर पुनर्निर्माण गरिदिने गरेको छ । त्यसका लागि सरकारले प्रतिघर तीन लाख रुपैयाँ अनुदान दिँदै आएको छ ।    

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया