‘पशुपतिमा रहेको विद्युतीय शव दाह गृह भोलिदेखि खुल्छ, किरियापुत्री घर खुल्ने ठेगान छैन’

 जेठ १०, २०७७ शनिबार १८:१६:३० | टेकमान शाक्य
unn.prixa.net

काठमाण्डौ - पशुपति क्षेत्रमा रहेको देशको एकमात्र विद्युतीय शव दाह गृह भोलि आइतबारदेखि सञ्चालनमा आउने भएको छ । सिन्धुपाल्चोककी कोरोना सङ्क्रमित महिलाको शव जलाएको दिनदेखि शव दाह गृह बन्द भएको एक हप्ता भएको छ । शव जलाउने तयारीसहित शव दाह गृहलाई ‘स्यानिटाइज’ गरिसकिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डाक्टर घनश्याम खतिवडाले जानकारी दिनुभयो । 

पशुपतिको आर्यघाट क्षेत्रका सबै चितामा शव जलाउने काम भने यथावत् छ । ‘कोरोना सङ्क्रमितको शव विद्युतीय शवदाह गृहमा जलाइएकोले त्यसबाट अरुमा सङ्क्रमण नसरोस् भनेर सतर्कता अपनाइएको हो,’ कोषका निर्देशक एवम् प्रवक्ता भोला सिटौलाले भन्नुभयो, ‘घाट क्षेत्रका चिताहरुमा भने नियमित नै शवहरु जलाइएका छन् ।’

किरियापुत्री घर खोल्नेबारे अन्यौल

कोरोना सङ्क्रमित महिलाको शव जलाएको दिनदेखि पशुपति क्षेत्रमा रहेको किरियापुत्री घरमा नयाँ भर्ना लिन छाडिएको छ । पहिलेका किरियापुत्रीहरु त्यस घरमा रहेको तर नयाँ भर्ना नलिइएको कोषका कार्यकारी निर्देशक खतिवडाले बताउनुभयो । पशुपति क्षेत्रमा रहेका ३४ वटा कोठामध्ये धेरैजसोमा त्यसभन्दा पहिलेदेखि किरियापुत्रीहरु बसिरहेका छन् । 

बाँकी केही कोठामा भने सङ्क्रमित महिलाको शव जलाउने व्यक्तिहरुलाई राखिएको छ । उनीहरुमा कोरोना सङ्क्रमण भए अरुमा पनि सङ्क्रमण सर्ने डरले केही समयका लागि किरियापुत्री घरमा नयाँ भर्ना बन्द गरिएको कोषले जनाएको छ । थप सतर्कता अपनाएर केही दिनमा किरियापुत्री घर खोल्ने निर्णय गरिने तर कहिले खुल्छ भनेर अहिले नै भन्न सकिने कार्यकारी निर्देशक खतिवडाको भनाइ छ ।

'किरियापुत्री सेवा अनिवार्य होइन'

पशुपति क्षेत्र विकास कोषले किरियापुत्री भवन किरियापुत्री बस्नका लागि बनाएको छ । आर्यघाट क्षेत्र खोल्नुपर्ने अनिवार्य भएपनि किरियापुत्री भवन अतिरिक्त सेवा भएकोले यसलाई तत्कालै खोल्नैपर्छ भन्ने नभएको कार्यकारी निर्देशक खतिवडाले उज्यालोलाई बताउनुभयो ।

‘घाट क्षेत्र अनिवार्य सेवा हो । तर किरियापुत्री घर अतिरिक्त सेवा हो । तैपनि यसलाई पनि सञ्चालनमा ल्याउनुपर्छ भनेर हामीले भनिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘केही शङ्कास्पद व्यक्ति पनि किरियापुत्री क्षेत्रमा प्रवेश गर्ने क्रम बढेकाले तत्कालका लागि बन्द गरेका छौँ ।’

कर्मचारीको अभाव

पशुपति क्षेत्रमा ल्याइने शव जलाउनका लागि अहिले कर्मचारीको अभाव छ । शव दाह गृहमा १६ जना र घाट क्षेत्रमा ३० जनाजति कर्मचारी रहेकामध्ये केही मात्रै पशुपति क्षेत्रमा उपस्थित रहेको कार्यकारी निर्देशकको भनाइ छ । उनीहरुमध्ये पनि भिडभाड हुन नदिने गरी ८ देखि १० जनालाई मात्रै बोलाइएको कोषले जनाएको छ ।

तत्काल सञ्चालन हुनुपर्छ – टण्डन

पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डाक्टर गोविन्द टण्डन आवश्यक व्यवस्थापन गरी किरियापुत्री बस्ने घरसहित सबै सेवा तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताउनुहुन्छ । ऐतिहासिक कालदेखि नै पशुपति आर्यघाट सञ्चालनमा आएकाले कुनै पनि बहानामा यसको सञ्चालनमा समस्या उब्जाउन नहुने उहाँको तर्क छ । 

हिन्दु धर्मावलम्बीले अन्तिम संस्कारका लागि मृत शरीर पशुपति आर्यघाट पुर्याउने गर्छन् । शव व्यवस्थापनमा खटिने व्यक्ति र कर्मचारीहरुलाई अतिरिक्त सुविधा दिएर भएपनि किरियापुत्री घरसहितका सबै सेवा तत्काल सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।

कोरोना महामारीको समयमा सबै ठाउँ बन्द हुने र काजकिरियाका लागि घाट पुग्नेहरु अन्त जाने ठाउँ नहुने भएकोले पशुपति पुगेकाहरुलाई त्यहीँ किरिया बस्ने व्यवस्था तत्काल मिलाउनुपर्ने सरोकारवालाहरु बताउँछन् । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

टेकमान शाक्य

टेकमान शाक्य उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया