सोती घटना : बेपत्ता भएका अर्का एक जनाकाे शव भेटियाे

 जेठ २०, २०७७ मंगलबार २०:५:३३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका अर्का एक जनाकाे शव भेटिएकाे छ । याेसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएकाे हाे ।  

बेपत्ता भएका भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव मङ्गलबार दिउँसो भेटिएकाे हाे । शाहीको शव जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोलानजिक भेटिएको उनका आफन्तले बताएका छन् । भेरी नगरपालिका ४ का नवराज विकको प्रेमिकालाई ल्याउन रुकुमको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोती गएको बेला घटना भएको थियो ।

मृतक गाेविन्द शाही

१७ वर्षीया मल्ल थरकी युवतीलाई ल्याउन जाँदा सोतीका गाउँलेहरुले आक्रमण गरेर उनीहरुको मृत्यु भएको मृतकका आफन्तजनले बताएका छन् भने साेतीका स्थानीयले भने त्यसरी आक्रमण नगरेकाे बताएका छन् । 

गाउँमा हुल बाँधेर खराब नियतका साथ आएकाहरुलाई प्रहरीमा बुझाउने गरी समात्न खोजेको उनीहरुले बताएका छन् । मृतकका आफन्तले भने गाउँलेले ढुङ्गामुढाले हानेर मारेको आरोप लगाएका छन् ।

यस घटनामा भेरी नगरपालिका ४ का नवराज विकको शव घटनाकै दिन शनिबार राति भेरी नदीकाे किनारमा भेटिएको थियो । आइतबार उनीसँगै गएका चौरजहारी नगरपालिका १ का २० वर्षीय टीकाराम विकको शव घटनास्थलबाट झण्डै २५ किलोमिटर तल जाजरकोटको भेरी नगरपालिका १२ को खोदा खोला नजिक भेटिएको थियो । 

सोमबार भेरी नगरपालिका ४ का २१ वर्षीय गणेश बुढाको पनि शव भेटिएको थियो । उनको शव पनि टिकारामको शव भेटिएको ठाउँ नजिकै भेटिएको थियाे । त्यसैगरी भेरी नगरपालिका ११ का १८ वर्षीय लोकेन्द्र सुनारको शव बुधबार दिउँसो भेटिएको थियो । उनको शव चौरजहारी १ को चौरजहारी अस्पतालको नजिक रहेको अधेरे भन्ने ठाउँमा फेला परेको थियो ।

आज बेपत्ता रहेका १७ वर्षीय गोविन्द शाहीको शव टीकाराम र गणेश बुढाको शव भेटिएकै ठाउँ नजिक भेटिएको हो । मृतकका आफन्तजनले घटनामा संलग्न २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । १८ जनालाई पक्राउ गरेर रुकुम पश्चिम प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया