एक हप्तादेखि पालो पर्खँदै स्वाबका नमुना, क्वरेण्टीनमा चाप थेग्न धाैधाै

 जेठ २५, २०७७ आइतबार १९:२७:३८ | रासस
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमबाट परीक्षणका लागि पठाइएका स्वाबको रिपोर्ट एक हप्तासम्म पनि नआउँदा पालिका क्वरेण्टीन व्यवस्थापनमा धौधौ भएको छ । 

भारत तथा देशका विभिन्न ठाउँबाट आएकाहरुलाई क्वरेण्टीनमा राखिएको छ । उनीहरुको स्वाब परीक्षणकाे लागि सुर्खेत र दाङ पठाइएकाेमा एक हप्ता बढी भइसक्दा पनि रिपोर्ट नआउँदा क्वरेण्टीनमा मान्छेको चाप थेग्नै मुश्किल हुन थालेको छ ।
 
दुई हप्ताभन्दा बढी समयसम्म रिपोर्ट नआउँदा क्वरेण्टीनमा रहेकालाई घर पठाउन नसकिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताउनुभयो । ६२ जनाको स्वाब परीक्षणका लागि यही जेठ १९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएकाेमा अहिलेसम्म रिपोर्ट नआएको उहाँले बताउनुभयो ।
 
'शनिबार मात्र थप एक सय ५० जनाको स्वाब सङ्कलन गरेर परीक्षणकाे लागि पठाएका छौँ, यसअघिकै रिपोर्ट आएको छैन, शनिबारको रिपोर्ट झन् कहिले आउने हो', उहाँले भन्नुभयो, 'स्वाब परीक्षणकाे लागि पठाइएका व्यक्तिहरु क्वरेण्टीनमा बसेको १८ दिन भइसकेको छ, अझै कति दिन बसाल्नुपर्ने हो, दिन प्रतिदिन क्वरेण्टीनमा व्यक्ति थपिने क्रम जारी छ, क्वरेण्टीनमा मान्छेको चाप थेग्नै गाह्रो भइसक्यो ।'
 
मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले क्वरेण्टीनमा राखिएकाको स्वाब सङ्कलन र परीक्षण हुन नसक्दा समस्या भएको बताउनुभयो । दुई हप्ताभन्दा लामो समयदेखि मान्छे क्वरेण्टीनमा रहेको उहाँको भनाइ छ । 'सुरुमा स्वाब सङ्कलन गर्ने भाडा अर्थात् भाइसर ट्रान्सपोर्ट मिडिया (भीटीएम) नहुँदा स्वाब सङ्कलनमा ढिलाइ भएको र त्यसपछि प्रयोगशालामा पालो नआउँदा मान्छेलाई धेरै दिनदेखि क्वरेण्टीनमै राख्नुपरेको छ', उहाँले भन्नुभयो ।

जिल्लाबाट झण्डै एक हजार एक सय जनाकाे स्वाब सङ्कलन गरिएको छ । तीन पटकमा ती स्वाब सङ्कलन गरी परीक्षणकाे लागि सुर्खेत र दाङ पठाइएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग फोकल पर्सन ईश्वर रावलले जानकारी दिनुभयो ।   

उहाँका अनुसार जेठ १८ गते चौरजहारी नगरपालिकाका एक सय ८१ जनाको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र १९ गते आठबीसकोट नगरपालिकाका ६२, मुसिकोट नगरपालिकाका ३२ र सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएकाेमा कसैको पनि रिपार्ट नआएको उहाँले बताउनुभयो । 

त्यस्तै शनिबार जिल्लाका सात सय ७५ जनाको स्वाब सुर्खेत र दाङ पठाइएको छ । त्रिवेणी गाउँपालिकाबाट दुई सय ६९ र आठबीसकोट नगरपालिकाबाट एक सय ५० गरी चार सय १९ जनाको सुर्खेत तथा बाफीकोट गाउँपालिकाबाट ९८, मुसिकोट नगरपालिकाबाट दुई सय ४४ र सानीभेरी गाउँपालिकाबाट १४ जनाको गरी तीन सय ५६ जनाको स्वाब दाङ पठाएको उहाँले बताउनुभयो ।  

एक हप्ताघि पठाएको स्वाबको रिपोर्ट अझै नआएको अवस्थामा पछिल्लो पटक पठाइएको स्वाबको रिपोर्ट कहिले आउँछ भनेर भन्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । प्रयोगशालामा धेरै जिल्लाका स्वाब थन्किएर रहेकाेले पालो आउन ढिलाइ भएकाे बताइएको छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया