निर्देशनालयको पत्र आएपछि क्वरेण्टीनमै रोकियो सङ्कलित स्वाब

 जेठ २६, २०७७ सोमबार २०:४:२० | विमल बिष्ट
unn.prixa.net

डोटी - स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले सुदूरपश्चिम प्रदेशमा पाँच दिनसम्म पीसीआर परीक्षणका लागि ‘स्वाब’ सङ्कलन नगर्न निर्देशन दिएपछि डोटीका स्वास्थ्यकर्मीले सङ्कलन गरेको ‘स्वाब’ क्वरेण्टीनमै रोकिएको छ । 

क्वरेण्टीनमा धेरै दिन स्वाब राख्ने मेसिन नभएका कारण निकालिएको स्वाबको व्यवस्थापन गर्न स्वास्थ्यकर्मीलाई समस्या भएको छ । डोटीको ६७ वटा क्वरेण्टीनमा राखिएका ४ सय जनाभन्दा बढी नागरिकको कोरोना जाँचका लागि पठाइएको ‘स्वाब’ को जाँच नहुँदा कैलालीको प्रयोगशालामै रोकिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीले जनाएको छ । 

पालिकामा स्वाब सङ्कलन कार्य रोकिएपछि १४ दिनदेखि क्वरेण्टीन बसेका नागरिकहरु आक्रोशित हुन थालेका रानागाउँ स्वास्थ्य चौकीका अहेब रमेश जोशीले बताउनुभयो । ‘थ्रोट स्वाब’ सङ्कलन नगरिँदा जिल्लामा भारतबाट आएका आठ हजार १४३ जना समस्यामा परेका छन् ।

किट आएसँगै तीव्र रुपमा सञ्चालन भएको ‘थ्रोट स्वाब’ सङ्कलन कार्य रोक्न परिपत्र आएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले शुक्रबार एक सूचना जारी गर्दै पाँच दिनसम्म थप थ्रोट स्वाब नलिन मातहतका निकायहरुलाई निर्देशन गरेको थियो । 

सुदूरपश्चिम प्रदेशमा अहिले एउटामात्रै ‘आरटीडी पीसीआर’ प्रयोगशाला रहेको र प्रयोगशालामा नौ जिल्लाबाट आएका हजारौँ किट स्वाब परीक्षण गर्न बाँकी रहेको छ  । धेरै दिन स्वाब राखे बिग्रिने भएकाले पाँच दिनसम्म ‘स्वाब’ सङ्कलन नगर्न निर्देशन दिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले बताउनुभयो । 

थ्रोट स्वाब सङ्कलनका लागि गाउँका क्वरेण्टीनमा खटिएका कर्मचारीहरु स्वाब सङ्कलन कार्य रोकिएपछि के गर्ने भन्ने अन्यौलमा परेको जिल्ला स्वास्थ्य कार्यालय डोटीका कोभिड सम्पर्क व्यक्ति सूर्य विष्टले बताउनुभयो । 

क्षेत्रीय स्वास्थ्य निर्देशनालयले स्वाब पठाउन पाँच दिन बन्द गरेपछि आरडीटी परीक्षण गरेर रिपोर्ट नेगेटिभ देखिनेलाई होम क्वरेण्टीनमा पठाउन लागेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया