पीसीआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक

 जेठ ३०, २०७७ शुक्रबार १४:५०:१ | रासस
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरसको पीसीआर परीक्षणको लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकोम तीमध्ये पीसीआर मेसिन भएका नौ वटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका प्रयोगशालाकी निर्देशक डाक्टर रुना झाले जानकारी दिनुभयो । 

प्रस्ताव पेस गरेका अन्य ११ प्रयोगशाला र अस्पताल पनि रहेका छन् । उनीहरुले आफूसँग अहिल्यै पीसीआर मेसिन नभए पनि परीक्षणको अनुमति पाए, एक महिनाभित्र पीसीआर मेसिन किन्ने र दुई महिनाभित्र परीक्षण सुरु गर्ने प्रस्ताव पेस गरेको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिनुभयो । 

प्रयोगशालाकी निर्देशक डा. झाका अनुसार नौ प्रयोगशालामध्ये तीन प्रयोगशालाले आफूसँग परीक्षणको लागि आवश्यक किटसमेत रहेकोले अहिले नै परीक्षण गर्न सक्ने जनाएका छन् भने अन्य ६ वटा प्रयोगशालाले परीक्षण गर्न पाउने भए आफूले किट खरिद गर्ने प्रस्तावमा पेस गरेको उहाँले बताउनुभयो । 

प्रयोगशालाले गत जेठ २२ गते सूचना प्रकाशित गरी सात दिनभित्र कोभिड-१९ परीक्षणका लागि इच्छुक दर्तावाला प्रयोगशालालाई  आफूसँग भएको क्षमता खुलाइ प्रस्ताव आह्वान गरेको थियो ।

बिहीबार जेठ २९ गतेभित्र प्रस्ताव आह्वानअनुसार निजी प्रयोगशालाले प्रस्ताव पेश गरेका थिए । 'हामीले प्रस्ताव गरेअनुसारको प्रयोगशालाले कोभिड-१९परीक्षणका लागि इच्छुक देखाएका छन्' निर्देशक डा. झाले भन्नुभयो, 'हामीले प्रस्ताव हेरेर ती प्रयोगशालालाई चाँडै नै परीक्षणको अनुमति दिन्छौँ ।'

प्रयोगशालामा प्रस्ताव पेस गरेका प्रयोगशालालाई परीक्षणको अनुमति दिएपछि कोभिड-१९ को परीक्षण गराउन चाहने सर्वसाधारणले आफै शुल्क तिरेर परीक्षण गराउन सक्नेछन् । अहिले सरकार मातहतका प्रयोगशालाले मात्र निःशुल्क परीक्षण गरिरहेका छन् । कोभिड-१९ परीक्षणको दायरा बढाउन मन्त्रालयले निजीलाई समेत कोभिड-१९ पीसीआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । 

प्रयोगशालालाई मन्त्रालयको स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले यही जेठ २० गते कोभिड-१९ परीक्षणको क्षमता बढाउन निजी क्षेत्रसँगको सहकार्यलाई अगाडि बढाउने सन्दर्भमा थप छलफल गरी यथाशीघ्र मोलाडिटी तयार गर्ने भनेर निर्देशनसमेत दिएको थियो । अहिले देशभरि २१ वटा प्रयोगशालाबाट पीसीआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । 

प्रयोगशालाकी निर्देशक डा. झाले मन्त्रालयले मापदण्ड बनाएपछि ती प्रयोगशालाले परीक्षण गर्ने अनुमति दिने बताउनुभयो । अहिलेसम्म एक लाख १५ हजार ९३७ पीसीआर एक लाख ७८ हजार १४३ जनाको आरडीटी परीक्षण गरिएको छ । दैनिक २१ वटा ठाउँबाट झण्डै पाँच हजार परीक्षण हुँदै आएको छ । बिहीबार पाँच हजार १९३ जनाको पीसीआर परीक्षण गरिएको थियो । 

उपत्यकामा जनस्वास्थ्य प्रयोगशालासहित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट परीक्षण भइरहेको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले पीसीआर परीक्षणको लागि निजीलाई पनि दिइने सैद्धान्तिक निर्णय गरे तापनि के कसरी, कति शुल्कमा गर्ने भन्नेबारे मापदण्ड बनाइरहेको बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया