सोलुखुम्बु : खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

 असार २, २०७७ मंगलबार १०:४१:१ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु : खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । 

अध्यक्ष शेर्पाको ३९ वर्षको उमेरमा मंगलबार बिहान साढे ८ बजे निधन भएको गाउँपालिका प्रवक्ता लाक्पाछिरी शेर्पाले जानकारी दिनुभयो ।

सानो आन्द्रामा क्यान्सर भएर विगत १० महिनादेखि थलिनुभएका शेर्पाको स्वास्थ्यमा सुधार नआएपछि जेठ १० गते हेलिकोप्टर मार्फत जन्मस्थल लुक्ला ल्याइएको थियो । स्वास्थ्य अवस्था स्थिर देखिएका कारण चिकित्सकले नै घर लैजान सुझाव दिएपछि लुक्ला ल्याइएको प्रवक्ता शेर्पाले बताउनुभयो । 

खुम्बु क्षेत्र तथा शेर्पा समुदायमा लोकप्रिय युवा नेता मानिने शेर्पाको पछिल्लो समय काठमाण्डौको ह्याम्स अस्पतालमा ‘केमोथेरापी’ गराइएको थियो । शल्यक्रिया गर्नुपर्ने भए पनि तौल कम हुँदा उपचार गर्न नसकिएको चिकित्सकको भनाइ छ । 

दश महिना पहिले भारतको मेदान्ता अस्पतालमा भर्ना हुनुभएका शेर्पाले त्यहाँ दुई महिनासम्म ‘रेडियो थेरापी’ गराउनुभएको थियो । त्यसपछि स्विजरल्याण्डमा पनि थप उपचार गराएर काठमाण्डौ फर्कनुभएका शेर्पाले पछिल्लो समय ह्याम्स अस्पतालमा नियमित उपचार गराउँदै आउनुभएको थियो ।

आफूले गाउँपालिका अध्यक्षको जिम्मेवारी सक्रियतापूर्वक निर्वाह गर्ने अवस्था नभएपछि शेर्पाले उपाध्यक्ष टासील्हामु शेर्पालाई जेठ १२ गतेदेखि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको थियो । त्यति नै बेला उहाँले सामाजिक सञ्जाल मार्फत वडाध्यक्षहरु, कार्यपालिका सदस्य तथा कर्मचारीहरु समेतलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गर्नुभएको थियो । 

तत्कालीन एमालेबाट निर्वाचित शेर्पा नेकपा सोलुखुम्बुको जिल्ला कमिटी सदस्य पनि हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया