सोती घटना : पीडितको पक्षमा नि:शुल्क बहस गर्दै बाबुछाेरा

 असार ५, २०७७ शुक्रबार १७:४५:३६ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - बुवा डा. नवराज गौतम र छोरा अधिवक्ता रामचन्द्र गौतम (आरसी) । पेशा दुवै जनाको अधिवक्ता​ । दुवै बाबुछोराले अदालतको बेन्चमा बसेर एउटै घटनामा बहस गर्ने संयोग जुरेको छ यतिबेला । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा समेत चर्चामा रहेको रुकुम पश्चिमको सोती घटनाका पीडितको पक्षमा नि:शुल्क बहस गर्न उभिनु भएका उहाँहरुको जस्तै संयोग पारिवारिक जीवनमा कमैलाई पर्न सक्छ । 

दुवै बाबुछाेराले शुक्रबारदेखि जिल्ला अदालत रुकुम पश्चिममा पीडितको पक्षमा एउटै बेन्चमा नि:शुल्क बहस गर्दै हुनुहुन्छ । गत जेठ १० गते चौरजहारी नगरपालिका वडा नं. ८ सोतीमा​ ६ जनाको ज्यान जाने गरी भएको घटनाको शुक्रबारदेखि थुनछेक बहस सुरु भएकाे हाे । बहसको लागि वादी र प्रतिवादी पक्षमा बहस गर्न धेरै अधिवक्ताहरू रुकुम पुगेका छन । 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नंं. १ घर भएका आरसी गौतम पनि काठमाडौंबाट पीडितको पक्षमा बहस गर्न रुकुम पुग्नुभएको हो । काठमाडौ कार्यक्षेत्र बनाएर बहस गर्दै आउनुभएका आरसीको लागि यो घटनाको बहस ऐतिहासिक अनुभव बन्नेछ  ।

आरसीले बहस गर्न थालेको सात बर्ष पुग्यो । “जन्म दिने बाबा सँगै पहिलो पटक  पीडित पक्षको तर्फबाट बहस गर्दैछु, मेरो लागि यो नयाँ अनुभूति पनि हुनेछ” आरसी भन्नुुहुन्छ,'हामी दुवैजना पीडितको तर्फबाट नि:शुल्क बहस गर्दैछौं‌ । आरसी बुवाकै प्रेरणाले कानूनी क्षेत्रमा लाग्नु भएको हो । 

आरसीका बुवा नवराज वरिष्ठ अधिवक्ता तथा रुकुमको पहिलो विद्यावारिधी गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले २०३६ सालदेखि रुकुम जिल्लामा बहस गर्दै आउनुभएको छ ।

सोतीको दुःखद घटनाले बाबुछोरालाई सँगै बहस गर्ने अवसर जुराइदिएको छ । “यो पेशा हो, यो घटनामा बाबुछोरा पीडितको पक्षमा बहस गर्दैछौं' डा. नवराज भन्नुहुन्छ, “समयले कहिलेकाहीँ बाबुछोरालाई वादी र प्रतिवादीको पक्षमा बहस गर्ने अवस्था निम्त्याउन सक्छ ।” तर, यसपटक बाबुछोरालाई सँगसँगै वकालत गर्ने नयाँ अनुभव हुनेछ ।

परिवारका चारजना अधिवक्ता 

डा. नवराज गौतमको परिवारका चारजना अधिवक्ता हुनुहुन्छ । एक मात्र छोरी रमा गौतम सहित २  छोराहरु पनि अधिवक्ता हुनुहुन्छ । बुवा डा. नवराज गौतम, छोरी रमा गौतम, छोराहरु बिनोद गौतम र आरसी गौतम । उहाँहरु चारैजना अधिवक्ता हुनुहुन्छ । डा. नवराज भनुहुन्छ, “मैले घरमै बसेर साग सिस्नु खाएर पीएचडी गरें​‌, मेरा सन्तानले पनि मलाई खुसी हुने गरी शैक्षिक सफलता हात पारेका छन् ।”

छोरी रमा गौतम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुमको सभापति समेत हुनुहुन्छ । दुई छोरा अधिवक्ता हुनुहुन्छ भने जेठो छोरा रमेश गौतम सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । अर्का छोरा मधुसूदन गौतम कानुनकै बिद्यार्थी हुनुहुन्छ, उहाँ अहिले सरकारी सेवामा हुनुहुन्छ । 

सोती घटना 

गएकाेे १० गतेका दिन रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनामा ३४ अभियुक्तविरुद्ध प्रहरीले जेठ ३२ गते आइतबार अदालतमा मुद्दा दायर गरेको हो । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय छुवाछुत लगायतका कसुरमा ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा दायर भएको मुद्दाबारे जिल्ला अदालतमा सोमबारदेखि नै बहस सुरु भएपछि बिहीबार पक्राउ परेका २९ जनाको बयान सकिएको छ । शुक्रबारबाट भने अदालतमा थुनछेक बहस सुरु भएको छ । 

जाजरकोटको भेरी नगरपालिका वडा नं.४ रानागाउँका नवराज विकले रुकुमको चौरजहारी नगरपालिका ८ सोतीकी मल्ल थरकी आफ्नी प्रेमिकालाई लिन भनेर १८ जना साथी सहित सोती पुगेका थिए । केटीतर्फका आफन्त र गाउँलेहरूको आक्रमणमा परेर उनीहरुमध्ये ६ जनाको ज्यान गएको थियो ।

प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको घटनामा ज्यान गएको छ । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

3 Comments

  • Kailash

    June 20, 2020, 10:02 p.m.

    सत्य तत्थ छानबिन होस। यस्ता अपराधी लाई कडा कारबाही होस।पीडित ले न्याय पाउन् ।

  •  0 Reply
  • Swarup tamang

    June 19, 2020, 10:44 p.m.

    रुकुममा त्यति धेरै पढे लेखेका मान्छे पनि रहेछन.....सलाम रुकुम, त्यस्तो बौद्दिक जन्माएकोमा ,,,अब कानुन मर्दैन /

  •  0 Reply
  • Tulasi shrestha Dhurba

    June 19, 2020, 7:08 p.m.

    तपाईहरू दुबै जनाको सहास र सेवाको उच्च मुल्याङकन हुनेछ। छुवा छुत प्रथालाई सति प्रथा जस्तै निर्मुल पार्नु पर्छ । जरै देखी उखेलेर फाल्नु पर्छ । मेरो पनि साथ र सहयोग रहनेछ। यस्तै अन्य घटनापनि छन्। बिभेद कारी सम्बीधान लाई परिवर्तन गर्नु पर्ने छ। निर्दोश मानिसहरू जेलमा छन्।

  •  0 Reply

तपाईको प्रतिक्रिया