बिउ र बजार पाएपछि लसुन खेतीमा किसानको आकर्षण बढ्यो

 असार ६, २०७७ शनिबार १९:५३:४२ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिमको मुसिकोट नगरपालिका १० का किसानहरु लसुन खेतीमा आकर्षित भएका छन् । पालिकाले लसुनको बिउ, सिँचाइ बजार व्यवस्थापनमा सहयोग गरेपछि त्यहाँका किसान लसुन खेतीमा आकर्षित भएका हुन् । 

लसुन खेतीमा प्रख्यात रहेका वडाका झ्याङ, गलमपाटी, जोगिखोर्या, चौर, खर्सुपानीलगायत टोलका किसानले यस सिजनमा मात्रै एक सय ४० क्विन्टल लसुन उत्पादन गरेका छन् ।उत्पादित लसुनले झण्डै १६ लाख ५० हजार मूल्य पाएको छ । 

उत्पादित लसुनमध्ये एक सय ६ क्विन्टल जिल्लाबाहिरको बजारमा पठाइएको वडा सदस्य धनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार यस सिजनको झण्डै १३ लाख रुपैयाँ बराबरको लसुन जिल्लाबाहिर गएको छ भने तीन लाख ५० हजार मूल्य बराबरको ३४ क्विन्टल लसुन स्थानीयस्तरमै खपत भएको छ । 

यो वर्ष किसानले लसुनमा प्रतिकिलो सय रुपैयाँ पाएका छन् । कृषक खड्कबहादुर बुढाले गएको वर्ष प्रतिकिलो ८० रुपैयाँमा लसुन बिक्री गरेको र यस पटक जिल्लाबाहिरका व्यापारी आएर प्रतिकिलो एक सय रुपैयाँ दिँदा थप मुनाफा र हौसला पाएको बताउनुभयो । 

उत्पादन गरेको सबै लसुनले बजार पाउँदा किसान हर्षित भएका छन् । दाङका व्यापारीले गाउँमै आएर लसुन खरिद गरेर लगेको किसानले बताएका छन् । दुई वर्ष अगाडिसम्म लसुनले बजार नपाएर चिन्तित बनेका किसानहरु गएको वर्षदेखि भने वडा कार्यालयको पहलमा बजार पाएपछि लसुन खेतीमा आकर्षित भएका हुन् ।  

'आवश्यक बिउ र बजारकाे व्यवस्थापना वडाले गर्छ'

लसुन खेती गर्न चाहने किसानहरुको लागि लसुनको बिउ र बजार वडा सरकारले नै व्यवस्था गर्न थालेको छ । गएको सिजनमा चालु आर्थिक वर्षको कार्यक्रम अन्तर्गत वडा कार्यलयले २२ क्विन्टल लसुनको बिउ कृषकलाई वितरण गरेको थियो । यस पटक भने ३४ क्विन्टल लसुनको बिउ किसानहरुलाई बाँड्ने गरी व्यवस्था गरेको वडा सदस्य धनबहादुर खड्काले जनाउनुभयो ।

त्यसकाे लागि वडा कार्यालयले तीन लाख ५० हजार रकमको बिउ सङ्कलन गरेको छ । वडा सदस्य खड्काका अनुसार वडाले लसुन खेतीलाई पूर्णरुपमा व्यावसायीकरण गर्ने योजना बनाएको बताइएको छ । 

मुसिकोट नगरपालिका १० का वडाध्यक्ष गोप्यश्वर केसीले दाङका व्यापारीसँग समन्वय गरेर उनीहरुलाई किसानको बारीमै पुग्ने व्यवस्था गरिएको बताउनुहुन्छ । कृषि उत्पादनमा आकर्षण बढाइ किसानहरुको हितमा काम गर्न सधैँ तयार रहेको वडाध्यक्ष केसीको भनाइ छ । अहिले यो वडामा प्रदेश सरकारले सुरु गरेको मसलाबाली पकेट क्षेत्र कार्यक्रमसमेत लागू गरिएको छ ।

नगरपालिकाका ८, ९, १० र ११ नम्बर वडामा सञ्चालन भएको यो कार्यक्रमले किसानको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास मुसिकोट नगरपालिकाको रहेको छ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया