सोती घटना : अभियुक्तहरुको थुनछेक बहस जारी

 असार ७, २०७७ आइतबार २०:५४:२५ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – गएको जेठ १० गते शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका अभियुक्तहरुको थुनछेक बहस जिल्ला अदालतमा जारी छ । 

गएको बिहीबार अभियुक्तहरुको बयान सकिएपछि शुक्रबारदेखि थुनछेक बहस सुरु भएको हो । पहिलो दिन शुक्रबार सरकारी वकिलको तर्फबाट पाँच जना र जाहेरीवालाकाे तर्फबाट दुई जना वकिलले बहस गरेका थिए ।

आज पनि जाहेरीवालाकै तर्फका वकिलहरुले बहस गरिरहेको जिल्ला अदालतका श्रेस्तेदार कृतबहादुर बोहराले बताउनुभयो । घटनामा संलग्न भएको आरोपमा गएको जेठ ३२ गते जिल्ला सरकारी वकिल कार्यालयले ३४ जनाविरुद्ध जिल्ला अदालतमा अभियोग दर्ता गरेको छ । ३३ जनालाई जन्मकैद र आजीवन कारावासकाे मागसहित अभियोग दर्ता गरिएको छ । जसमध्ये २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पाँच जना फरार छन् । 

३४ मध्ये एक जनालाई मतियार र बाँकीलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतसम्बन्धीको अभियोग लागेको छ । अभियोग लागेकामध्ये दुई जना नाबालकलाई थुनछेक बहसपछि गएको सोमबार नै अदालतले पुर्पक्षकाे लागि बाल सुधार गृहमा राख्न आदेश गरिसकेको छ ।

जेठ १० गते शनिबार प्रेमिकालाई बिहे गरेर लैजान भन्दै जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए । त्यही क्रममा ६ जनाको ज्यान गएको थियो । जाजरकोट भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको मृत्यु भएको थियाे । ६ जनाकै शव भेरी नदीमा भेटिएको थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया