आइसाेलेशनमा ताला, काेराेना सङ्क्रमितलाई क्वरेण्टीनमा

 असार ११, २०७७ बिहिबार १४:१४:३३ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – रुकुम पश्चिममा पहिलो पटक कोरोना सङ्क्रमण पुष्टि भएका एक जना सदरमुकामको एक क्वरेण्टीनमा त्रासबीच दिनरात बिताइरहनु भएकाे छ । 

क्वरेण्टीनकाे अवस्था र सङ्क्रमितप्रति राज्यको बेवास्ताको कारण आफू निद्राकाे ट्याबलेट खाएर निदाउने गरेको उहाँले उज्यालोलाई जानकारी दिनुभयाे । मुसिकोट नगरपालिका १२ का ३३ वर्षीय ती पुरुषमा गएकाे असार ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा गरिएको पीसीआर परीक्षणकाे क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँलाई मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसको क्वरेण्टीनमा ल्याइएको थियो ।

क्वरेण्टीनमा सङ्क्रमतिलाई त्रास

दिन जसोतसो कटे पनि रातमा निद्राकाे औषधि खाएर सुत्ने गरेको उहाँले गुनासाे गर्नुभयाे । 'पछिल्लाे समय लगातार सङ्क्रमितकाे दर बढिरहेकाे भारतबाट आउनुभएका व्यक्तिहरु पनि यही नजिकै राखिएकाे छ, हामी एउटै शौचालय प्रयोग गर्छाैँ', उहाँले भन्नुभयाे, 'यो राम्रो भएन, घरका बालबच्चा र परिवारको समेत चिन्ता छ ।' उहाँका अनुसार उपलब्ध गराइएका मास्क र स्यानिटाइजरको समेत अभाव छ । 

उहाँका अनुसार क्याम्पसको एउटा कोठामा राखिएपछि कोही पनि सोधपुछको लागि आएका छैनन् । राम्रो बत्तीको सुविधा छैन, नेट चलाउनु त परैको कुरा भयो । सङ्क्रमण फैलिन थालेपछि झण्डै १३ किलोमिटर हिँडेर खलङ्गासम्म आएको उहाँले बताउनुभयो । निरन्तरको झरीमा रुझ्दै हिँडेर त्यहाँसम्म आइपुगेको उहाँले जानकारी दिनुभयाे । 

जिल्लामा उपलब्ध एम्बुलेन्स र सरोकारवालाले आफूलाई त्यहाँसम्म ल्याइ पुर्‍याउँदा लापर्वाही गरेकाे उहाँले बताउनुभयाे । क्वरेण्टीन र आइसोलेशन व्यवस्थापनको जिम्मेवारी रहेको पालिकाले समेत यस विषयमा खासै चासो दिएको देखिँदैन । सङ्क्रमितको अवस्था र क्वरेण्टीनमा रहेकाहरुको गुनासो सुनाएपछि मुसिकोट नगरपालिकाका निमित्त कार्यकारी प्रमुख नरवीर खड्काले समस्या समाधानतर्फ लागिपरेको बताउनुभयो । नगर प्रहरी र स्वास्थ्यकर्मी त्यस ठाउँमा खटाइएको उहाँले जनाउनुभयो । छिट्टै छुट्टै शौचालय बनाइने र अन्य व्यवस्था गरिने उहाँले उल्लेख गर्नुभयो । खड्काले केही कोरोना सङ्क्रमित डिप्रेसनको बिरामी समेत रहेको बताउनुभयाे ।  

आइसोलेशन अस्पताल रित्तै

कोरोना सङ्क्रमितको सुरक्षित रुपमा उपचार गर्न तयार गरिएको आइसोलेशन भने रित्तै छ । जिल्ला अस्पताल सल्लेमा झण्डै ४८ लाखको लागतमा रातारात बनाइएको आइसोलेशन अस्पताल ताला लगाइएको अवस्थामा रहनु र सङ्क्रमित व्यक्ति क्वरेण्टीनमा त्रासका बीच बाँच्नु सङ्क्रमितप्रतिको बेवास्ता भएको क्वरेण्टीनमा बसेकाहरुले बताएका छन् । अस्पताल स्रोतले जटिल अवस्थाका बिरामीको लागि आइसोलेशनको तयारी अवस्थामा रहेको बताए पनि अन्य सङ्क्रमित नै नभएको र एक जना सङ्क्रमितलाई पनि अस्पतालमा राख्न नसकेको आरोप छ ।

सङ्क्रमितलाई परामर्श र औषधि उपचारको लागि आइसोलेशनमा डाक्टरको निगरानीमा राख्ने व्यवस्था छ । तर सङ्क्रमित व्यक्तिले आजसम्म पनि कोही डाक्टरले स्वास्थ्य अवस्था बुझ्न नआएको, औषधि उपचारबारे केही नभनेको बताउनुभयाे ।

मुसिकोट नगरपालिका १२ का वडाध्यक्ष प्रेम ओली र नगरपालिकाका नगर सदस्य धिरेन सिर्पालीले मात्र भेट्न आएको उहाँले बताउनुभयाे । स्वास्थ्य सेवा कार्याल रुकुम पश्चिमका कोरोना रोग नियन्त्रण फोकल पर्सन ईश्वर रावलले लक्षण देखिएकाहरुलाई अस्पतालमा ल्याउने मापदण्ड भएकाे र सङ्क्रमितलाई आइसोलेशनमा ल्याउन कार्यालय तयार रहेको बताउनुभयो । उहाँले सङ्क्रमितलाई जिल्लाको आइसोलेशनमा नराख्ने भन्ने कुरै नहुने बताउँदै भन्नुभयो, 'कहीँ कतै समन्वयको ग्याप भयो, हामीकहाँ ल्याउन पहल भएन र कसैले पनि लैजानुस् भनेर भनेनन् ।'

स्वाब सङ्कलन गर्दा सङ्क्रमित व्यक्ति दीर्घ रोगी पनि रहेको आफूले अपुष्ट सूचना पाएको उहाँले बताउनुभयो । सङ्क्रमित राखिएकै क्वरेण्टीन आसपास अन्य व्यक्तिहरु राखिनु थप जोखिमपूर्ण हुने उहाँले जनाउनुभयो । सङ्क्रमितलाई आइसोलेशनमा ल्याएर राख्न स्वास्थ्य कार्यालय तयार रहेको उहाँले स्पष्ट पार्नुभयो ।

क्वरेण्टीनमा बस्नेलाई पनि समस्या 

सङ्क्रमति व्यक्ति भएकै क्याम्पसमा राखिएका अन्य ११ जनाले पनि आफूहरु समस्याका बीच बसिरहेको बताएका छन् । 

आफूहरु भारतबाट आएपछि यहाँ ल्याइएको र उपयुक्त सुविधा अभाव रहेको उनीहरुको गुनासो रहेको छ । सङ्क्रमितले प्रयोग गर्ने शौचालयमा जानु परेको, शौचालयको अवस्था हेर्न लायक नभएको, बेन्चमा सुत्नु परेको, पिउनलाई तातो पानी नभएको, महिला/पुरुष दुवैले एउटै शौचालय प्रयोग गर्नु परेको लगायतको गुनासो उनीहरुकाे छ । मुसिकोट नगरपालिकाका निमित्त कार्यकारी प्रमुख नरविर खड्काले तत्कालै यस्ता समस्याहरु समाधानकाे लागि पहल गर्ने दाबी गर्नुभयाे । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया